बेलबारी । सुन्दरहरैंचा नगरपालिकालाई पराजित गर्दै पथरीशनिश्चरे नगरपालिका अन्तरपालिका बेलबारी मेयरकपको फाईनलमा प्रवेश गरेको छ ।
बुधवार भएको सेमीफाईन खेलमा सुन्दरहरैंचालाई ४—२को गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरे फाईनलमा प्रवेश गरेको हो । खेल संचालन भएको ५ मिनेटमै पथरीशनिश्चरेले पेनाल्टीको अवशर पाएका थिए । उक्त पेनाल्टीको अवशर उठाउदै दिपक राईले एक गोल गरेका थिए ।
पहिलो गोल खाएपछि निकै आक्रामक खेल बनाउदै गरेका सुन्दरहरैंचाका टिम क्याप्टेन कमल खवासले ३९ औं मिनेटमा रातो कार्ड पाएपछि विवाद सृजना भएको थियो । मुख्य अम्पाएर सजी धिमाललाई गाली गरे अम्पाएरले सिधै रातो कार्ड दिएका थिए । टिम क्याप्टेन मैदान वाहिरिए लगत्तै पाएको फ्रि किकलाई सदुपयोग गर्दै पथरीशनिश्चरेका खेलाडी सुमन राईले ४६ औं मिनेटमा थप एक गोल गरेका थिए ।
त्यसपछि दोश्रो हापको ९ औं मिनेटमा पुन दिपक राईले र १२ औं मिनेटमा एक एक गोल गरि जम्मा ४ गोल गरेका थिए । दशजना मात्रै मैदानमा रहेका सुन्दरहरैंचाका खेलाडीले दवावको वावजुध दुई गोल गरेका थिए । जर्सी नं. १५ का महेन्द्र कार्कीले दोश्रो हापको ३५ र ३८ औं मिनेटमा गरी दुई गोल गरेका थिए ।
सुन्दरहरैंचाका खेलाडीले रातो कार्ड पाएर मैदान वाहिरिएपछि खेलको सन्तुलन नमिलेपछि दर्शकहरुले खल्लो महसुस गरेका थिए । खेलको म्यान अफ दि म्याच पथरीशनिश्चरेका दिपक राई घोषित भएका थिए । भोलिको दोश्रो सेमीफाईनल खेल केराबारी गाउँपालिका र बेलबारी नगरपालिका बीच हुने भएको छ ।