धनकुटा/ विद्यार्थी कुटेको आरोप लागेपछि छथर जोरपाटी गाउँपालिका–२ जोरपाटीस्थित सेतोगुराँस सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत विज्ञान विषयका शिक्षक यशुन ओझालाई विद्यालय व्यवस्थापनले निष्काशित गरेको छ ।

शिक्षक ओझाले कक्षा–१० का चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगरलाई कुटपिट गरेका थिए । कक्षा कोठामा विज्ञान विषयको प्रश्न सोध्ने क्रममा उत्तर नदिएको भन्दै ३ छात्रामाथि ओझाले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट छात्राहरूको पिँडुला, हात र पिठ्युँमा निलडाम भएको थियो । घट्नापछि विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकहरूले कुटपिटमा संलग्न शिक्षक ओझालाई लिखितरूपमा कारबाहीको माग गरेका थिए ।

अभिभावकको मागबमोजिम विद्यालय व्यवस्थापन समितिको असार १३ गते बसेको बैठकले शिक्षक ओझालाई निष्काशन गर्ने निर्णय गरेको समितिका एक सदस्यले बताए ।