झापा । बिर्तामोडको मनकामना कलेज तथा माध्यमिक बिद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून संकाय थप गरेको छ ।
दुई दशकदेखि सञ्चालन कलेजले कानुन विषयसहित ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट अध्ययनको तयारी गरेको विद्यालयले विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह हटाएको एक दशकदेखि कानुनको आधारभूत ज्ञान प्राप्त गर्न विद्यार्थी बञ्चित भएको क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । बिद्यार्थी कानून संकायबाट बञ्चित नहुन भनेर कलेजले शुरु गरेको उनको भनाई छ । ‘कक्षा ११ र १२ मा कानून विषय अध्ययन गरेपछि एलएलवी अध्ययन गराइन्छ’ क्याम्पस प्रमुख भट्टराईले भने ‘५ बर्ष एलएलवी पढ्नुपर्छ ।’ एलएलवी यसै कलेजमा ल्याउने कुरामा पहल गर्ने उनले बताए ।
कानुन संकाय शुरु गरेको कलेजले कक्षा ११ मा ४० जना मात्र विद्यार्थी भर्ना गर्ने शैक्षिक विभाग प्रमुख कुमार थपलियाले जानकारी दिए । ‘काठमाडौंमा यस विषय अध्ययनका लागि एकलाख रुपैयाँ पर्छ’ उनले भने ‘तर, हामीले ५० हजारको मात्र प्याकेजको व्यवस्था गरेका छौं ।’ पछि यसको शुल्क वढ्न पनि सक्ने उनले संकेत गरे । एकमुष्ट रकम तिर्नेलाई ५ हजार छुट गरिएको उनले बताए । तीन किस्ता गरेर तिर्नेलाई ५० हजार नै पर्न आउने थपलियाले बताए ।
कलेजमा मानविकी, शिक्षा, व्यवस्थापन संकाय, साथै मानविकी संकायको बिएमा पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन भइरहेको जनाइएको छ ।