श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल-२०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म 'बुलबुल' ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड-२०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् । 
 
स्वस्तिमाले फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड 'बुलुबल' टिमलाई समर्पित गर्न चाहने फेसबुकमा उल्लेख गरेकी छन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् । 
 
'बुलबुल' सँगै यस फेस्टिभलमा 'प्रसाद' र 'हरि' ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’ अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको उनको भनाई छ । 
 
यसअघि 'सार्क फिल्म फेस्टिभल-२०१४' मा फिल्म 'झोला' बाट अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसयता कुनै नेपाली फिल्मबाट अभिनेत्रीले अवार्ड जित्न सकेका थिएनन् । यद्यपि, २०१७ मा ‘डाइङ क्यान्डल’ बाट उत्कृष्ट सम्पादकको अवार्ड भूपेन्द्र अधिकारीले जितेका थिए । भने, ‘कालो पोथी’ ले उत्कृष्ट फिल्म ओपन अवार्ड हात पारेको थियो ।
 
व्यावसायिक सफलतामा पछि परे पनि 'बुलबुल' लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । अहिले यो फिल्मले विदेशमा आयोजना हुने विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाइरहेको छ । निर्देशक पौडेल फिल्मको प्रदर्शनका लागि केही हप्तायता अमेरिकामा छन् । उनले आफ्नो डेब्यू फिल्मले ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड जितेपछि खुसी व्यक्त गरेका छन् । यसमा अभिनेत्री खड्काको अपोजिटमा मुकुन्द भुषालको अभिनय छ । 
साभारःफिल्मीखबरबाट