धरान/ धरानको ऐतिहासिक दन्तकाली मन्दिरमा पित्तलको छानो लगाउन थालिएको छ । पहिले लगाइएको ग्रेनाइटको छानो उप्काएर पित्तलको छानो लगाइएको हो ।

मन्दिरमा प्रदेश सरकारले दिएको ३० लाख रुपैयाँले छानाको जीर्णोद्धार गरिएको हो । उपभोक्ता समितिले पनि ३ लाख ७६ हजार रुपैयाँ सङ्कलन गरेर छानो लगाउने काम भइरहेको दन्तकाली मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराज खनालले बताए ।

झिँगटीको प्यागोडा शैलीको छानो वि.सं. १९९० सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि गुम्बज शैलीको छानो बनाइएको थियो । तर त्यो पनि ०४५ सालको भूकम्पले भत्काएपछि फेरि प्यागोडा शैलीको छानो लगाइएको थियो । उक्त मन्दिरस्थलमा शिवजीको श्रीमती सतिदेवीको दाँत झरेको विश्वास गरिन्छ ।

पुजारीसमेत रहेका सचिव खनालका अनुसार वि.सं. १८५६ मा गिर्वाणयुद्ध विक्रम शाहले रामचन्द्र खनाल र उनका सहोदर भाइ तुलारामलाई दन्तकालीमा पूजा गर्न ताम्रपत्रसमेत दिएका थिए । तिनै खनालका सन्ततीको नवौं पुस्ताको रूपमा आफू रहेको उनले बताए ।

मन्दिरको नाममा सुनसरीको साविक हाँसपोसा हाल इटहरी उपमहानगरपालिका, मोरङको भाथिगछ र झापाको गौरीगञ्जस्थित ठेकितोलमा गुठी जग्गा रहेको तर यति नै भनेर थाहा नभएको खनालले बताए ।