सप्तरी/ सप्तरीमा १४ वर्षीया एक दलित बालिकाको बलात्कार भएको छ । गत बुधबार मदिरा खुवाएर बलात्कार गरिएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामाकट्टीस्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानीयले बताए । हालसम्म प्रहरीमा भने उजुरी पुगेको छैन ।

विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ । हाल उनीहरू दुवै फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

घटनाको विषयमा जानकारी आए पनि बालिकाकोतर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरीपछि अनुसन्धान हुने उनले बताए ।

सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनै महिलाले फकाएर बालिकालाई मजदुरीमा लगेको र जबरजस्ती मदिरा सेवन गराएको पीडित परिवारले बताएको छ ।