धनकुटा/ धनकुटा जिल्लाबाट पहिलो सगरमाथा आरोही तेञ्जिङ शेर्पालाई बुधबार एक औपचारिक समारोहको बीच सम्मान गरिएको छ ।
जिल्लाको छथर जोरपाटी गाउँपालिकाले शेर्पालाई सम्मान गरेको हो । उनलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले नगद ५० हजार र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिम्बूले शेर्पाले हिमाल आरोहण गरेर धनकुटा जिल्लाको नाम विश्वसामु चिनाएको भन्दै बधाई दिए ।
त्यस्तै गरी सिँधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिव श्रेष्ठले अब हिमाल आरोही शेर्पाले यस्तै कार्यमा चासो राख्ने व्यक्तिहरूलाई दिशानिर्देश गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा छथर जोरपाटी गाउँपालिका अध्यक्ष इन्द्र सारु मगर, नेपाली काङ्ग्रेसका छत्र सुब्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद अर्याल, हरिराज खेवा स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णु पारघरीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत अर्यालले राखेका थिए । छथरजोरपाटी गाउँपालिका वडा नं. ६ परेवादिनका शेर्पाले २० वर्षकै उमेरमा गत जेठ २ गते बिहान ३ बजेर १५ मिनेट जाँदा सफल सगरमाथा आरोहण गरेका थिए ।