इटहरी/ असार २ गते इटहरीको बसपार्क क्षेत्रमा ६ वर्षीया बालिका बलात्कृत भइन् । पछिल्लो समय बलात्कारको घटना बढिरहेको बेला बालबालिकाहरू समेत बलात्कारको शिकार हुन पुगेका छन् । यो प्रतिनिधि घटना मात्र हो । देशभर बलात्कारको ग्राफ बढिरहेका बेला प्रदेश १ को अवस्था पनि उस्तै छ ।
दैनिकजसो बलात्कारका घटना हुने गरेका छन् । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने प्रदेश १ मा बलात्कारको ‘ग्राफ’ उकालिँदो छ । प्रदेश १ मा झापा र सुनसरीमा बलात्कारको घटना अधिक भएको प्रदेश १ प्रहरीको तथ्याङ्कले देखाउँछ । सबैभन्दा बढी झापामा चालू आर्थिक वर्षको जेठ सम्ममा १ सय २१ जना महिला बलात्कृत भएका छन् ।
त्यो सँगै ३६ जनालाई बलात्कारको प्रयास भएको भएको छ । बलात्कारको घटनामा सुनसरी पनि बद्नाम हुँदै गएको छ । चालू आर्थिक वर्षको जेठसम्म १ सय जना महिला बलात्कारको शिकार भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहालले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म प्रदेश १ को जिल्लामा ५ सय ४ जना महिला बलात्कृत भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा ४ सय ६ जना महिला बलात्कृत भएका थिए । जबर्जस्ती करणी गरेको आरोपमा ३ सय ४५ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रदेश १ का प्रहरीका अनुसार इलाममा २९, पाँचथरमा १४, ताप्लेजुङमा १७, मोरङमा ९, धनकुटामा ६, तेह्रथुममा १५, भोजपुरमा १५, उदयपुरमा ३२, खोटाङमा १६, ओखलढुङ्गामा ९ र सोलुमा १३ गरी ५ सय ४ जना महिला तथा बालबालिकामाथि बलात्कार भएको छ ।
तथ्याङ्कलाई आधार मान्ने हो भने विगत वर्षभन्दा पछिल्ला वर्षमा बलात्कार बढिरहेको देखाउँछ । आर्थिक वर्ष ०६९/०७० मा २ सय १७ वटा बलात्कारका घटना भएका थिए । आर्थिक वर्ष ०७०/०७१ मा बढेर २ सय ५८ वटा पुगे । आर्थिक वर्ष ०७१/०७२ मा ३ सय २, आर्थिक वर्ष ०७२/०७३ मा २ सय ९५ वटा घटना भएको देखिन्छ । आर्थिक वर्ष ०७३/०७४ मा ३ सय बलात्कारका घटना भएका छन् ।
सहमति पछि बलात्कार
पछिल्लो समयमा बलात्कारको शैलीसमेत फेरिएका छन् । अहिले होटलहरूमा बलात्कार हुन थालेको छ । बलात्कार भनिएका घटनामध्ये कतिपय कसैले देखेपछि पोल खुल्छ र बदनाम हुन्छ भन्ने डरले, कुनै लेनदेनमा कुरा नमिलेर, गर्भ रहेर, क्यूरेट गर्नुपर्दा दुःख भोगेर पनि हुने गरेका उदाहरण छन् ।
इटहरीका डिएसपी समीरचन्द्र खरेल भन्छन् ‘पछिल्लो समयमा कुरा नमिल्दा पनि बलात्कार हुने गरेको छ । पोर्नसाइट फिल्महरूको कारण पनि बलात्कारका घट्नामा वृद्धि भएको छ’–उनी भन्छन् । इन्टरनेटको कारण पनि बलात्कारको घटना बढेको जस्तो देखिएको डिएसपी खरेलले बताए । श्रीमान्श्रीमती अलग भएर बस्नाले पनि समाजमा बलात्कारको घटना बढेको उनी बताउँछन् ।
यस्तो छ कानून
मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को दफा २१९ ले कसैले कुनै महिलाको मञ्जुरीबिना जवर्जस्ती करणी गरेमा बलात्कार गरेको मानिन्छ । यस्तै १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरी लिई गरे पनि बलात्कार गरेको ठहर हुने व्यवस्था छ ।
ऐनले दश वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १६ देखि २० वर्षसम्म कैद, दश वा दश वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्ष कैद, चौध वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी भए १२ देखि १४ वर्ष कैद, १६ वर्षदेखि १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्षदेखि माथि उमेररकी महिला भए ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।