धनकुटा/ लोकसेवा आयोग धनकुटाले शुक्रबारदेखि सञ्चालन गरिरहेकोे विभिन्न विषयको परीक्षामा आदिवासी जनजातिहरूको आन्दोलनका कारण सुरक्षा चुनौती देखिएपछि स्थानीय प्रशासनले कडा सुरक्षाबीच परीक्षा सञ्चालन गरिरहेको छ ।

लोकसेवा आयोगले समावेशी, समानुपातिक र आरक्षण कोटा कटाएर प्राविधिक तथा अप्राविधिक विषयको परीक्षा लिएको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घको देशव्यापी आन्दोलनको कारण धनकुटामा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । लोकसेवा आयोग धनकुटाले १ नम्बर प्रदेशभित्र पर्ने सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम गरी ६ जिल्लाका परीक्षार्थीहरूको विभिन्न विषयको परीक्षा शुक्रबारदेखि लिइरहेको छ ।

यसैक्रममा लोकसेवा आयोग धनकुटाले आफ्नो क्षेत्राधिकारभित्रको स्थानीय तहको करिब ५५ जना छैठौं तहको शाखा अधिकृतको लागि ८ वटा केन्द्रमा करिब १ हजार ६ सय परीक्षार्थीको परीक्षा शुक्रबार नै लिएको छ । त्यसैगरी शनिबार बिहान रा.प.अनङ्कित पाँचौं तह ना.सु. पदको करिब ७५ जनाको लागि १८ केन्द्रमा ३ हजार ५ सय परीक्षार्थीको परीक्षा लिएको छ । त्यसैगरी शनिबार दिउँसो सम्पन्न भएको रा.प.अनङ्कित चौथो तहको खरिदार पदको करिब १ सय जनाको लागि ४ हजार ५ सय परीक्षार्थीहरूले परीक्षा दिएको लोकसेवा आयोग धनकुटाले जनाएको छ ।

लोकसेवा स्रोतका अनुसार आज (आइतबार) महिला विकास अधिकृतको र आगामी श्रावण १० र ११ गते प्राविधिक तर्फको परीक्षा सञ्चालन हुनेछ । लोकसेवा आयोगले परीक्षाको विषयलाई लिएर आदिवासी जनजातिहरूले देशव्यापी आन्दोलनको घोषणा गरेको र धनकुटामा पनि आन्दोलन हुनसक्ने आशङ्काले नगरक्षेत्रका विभिन्न केन्द्रमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

नगरक्षेत्रको भाषा मा.वि. कागते, गोकुण्डेश्वर मा.वि. धनकुटा–६ सिरान बजार, गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटा–५ टुँडिखेल, धनकुटा बहुमुखी क्याम्पस, त्रिवेणी मा.वि., दीप इङ्लिस बोर्डिङ स्कुल, बालसंसार आवासीय मा.वि., धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सलगायतका परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था उच्च सतर्कताको साथ सयौंको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रहरीले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर दुहबीबाट १ सय जना दङ्गा प्रहरीसमेत झिकाएर परीक्षा केन्द्रहरूमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुरज खड्काले बताए । लोकसेवाको परीक्षा केन्द्र धनकुटाको भौगोलिक भू–बनोटको कारण यत्रतत्र छरिएकाले पनि प्रहरी प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउन निकै चुनौती देखिएको खड्काले बताए ।

परीक्षा केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र दङ्गा प्रहरीका गरी ३ तहको सुरक्षा व्यवस्था मिलाइएको खड्काले बताए । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले धनकुटामा सञ्चालन भइरहेको लोकसेवा आयोगको परिक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको जानकारी दिएका छन् । कार्कीले लोकसेवा आयोगको विषयलाई लिएर छिटफुट घटना भए पनि धनकुटामा भने शान्तिपूर्ण सम्पन्न भइरहेको ब्लाष्टलाई बताए ।

loksewa