धरान/ नेकपा नेता तथा रक्षामन्त्रालयसमेत सम्हालेका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाले संविधानको सर्वोच्चतालाई मात्र मान्ने बताएका छन् । उनले एउटा व्यवस्थाबाट चलिरहेको मुलुक अर्को नयाँ व्यवस्थामा प्रवेश गर्दा संविधान बनाए पनि आवश्यक ऐन कानून र नीति नियम बनाइनसकेकाले सरकारले दिने सेवा जनतासम्म ‘डेलिभर’ हुन नसकेको बताए ।
उपप्रधानमन्त्री पोखरेलले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सरकारमात्र परिवर्तन नभएर पूरै प्रणाली परिवर्तन भएको तर त्यस प्रणालीअनुसार चल्नका लागि संविधानअनुसारका ऐन–कानून, नीति निर्माण तयार भइनसकेकाले सरकारले जनतालाई सेवा दिन नसकेको हो ।’ उनले सरकारले मुलुकको समृद्धिको आधार तयार गरिरहेको अवस्थामा कानून र नीति अभावमा खुट्टा टेकेर हिँड्न नपाएको बताए । उनले नयाँ व्यव्स्था अनुकूलको कानून, नीति र संरचना निर्माण भइरहेकाले जनचाहना अनुरूप सरकार जनतालाई सेवा सुविधाको डेलिभरी दिन समय लागेको बताए । उनले भने, ‘एक बर्षको अवधिमा कानून, नीति र संरचना निर्माण भएर आधारस्तम्भ तयार भएको छ । अब सरकारले गति लिन्छ ।’
नेकपाको धरान उपमहानगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी एकीकरणको सन्दर्भ कोट्याउँदै नेकपाको विचार र नीतिबारे पनि उनले स्पष्ट पारे । उनले भने, ‘नेकपाले संविधानको सर्वोच्चतालाई मात्र मान्छ । संविधानको सर्वोच्चतासँगै कानूनी शासन, आवधिक निर्वाचन, नियन्त्रण र सन्तुलन, जनअनुमोदित जनप्रतिनिधि, बहुलवादी खुला समाज नै नेकपाको सार हो । यिनै सारलाई लिएर अब नेकपा अगाडि बढ्छ ।’
एक अर्को प्रसङ्गमा उनले स्थानीय नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल फेसबुके रोगबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘तपाईंहरू पार्टी एकीकरणबारे जथाभावी सामाजिक सञ्जालमा लेखेर समय बर्बाद गर्नुको कुनै तुक छैन ।’ उनले एकीकरणपछि एमाले र माओवादी केन्द्र नरहेको उल्लेख गर्दै नेकपा मात्र रहेको बताए । पार्टीको विगतको दुई पार्टीको नेतृत्वलाई सम्झेर कसकोमा कति जना परे, के–के पदमा रहे, कसको मान्छे कति पर्यो र पार्टीको नेतृत्व कसले गर्ने भन्ने चिन्ता नलिन पनि सुझाए । उनले भने, ‘जो जहाँ परे पनि, जसको नेतृत्व भए पनि नेकपाकै नेता कार्यकर्ताले नेतृत्व लिने हो । अरूले लिने होइन ।’
उनले पार्टी एकीकरणका बारेमा रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आएका समाचारले पनि कार्यकर्ताले मन बिगार्ने भएकाले पार्टीको च्यानलप्रति विश्वास गर्न आग्रह गरे । उनले भने, ‘अहिले खोलो धमिलो छ, पारि तर्नु छ । खुट्टाको औंलाले ढुङ्गा छाम्दै तर्नुपर्ने अवस्था छ । कुरो बुझ्नु भयो होला, पार्टीमा अहिले केही गाँजेमाजे छ, त्यो केही समयपछि मिल्छ ।’ यसअघि उनले धरान–१५ स्थित याक्थुङ चुम्लुङहिममा आयोजित धरान उपमहानगरपालिकाका दिवङ्गत प्रमुख स्व. तारा सुब्बा स्मृति ग्रन्थको लोकार्पण गरेका थिए ।
स्मृति ग्रन्थको लोकार्पण गर्दै उनले स्वर्गीय तारा सुब्बा सजिलो अवस्थामा मात्र होइन, अप्ठ्यारो अवस्थामा पनि चम्कन सक्ने व्यक्तिŒव भएको बताए । उनले सुब्बाको सपनाको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ । सुब्बा भौतिक रूपमा यो संसारमा नरहे पनि विचार र कर्मले नेकपामाझ तथा धरानबासीका माझ बाँचिरहनेछन् ।’ उनले निष्ठा र इमान्दारिताको राजनीति गर्ने असल नेता, नगरप्रमुख सुब्बालाई धरानबासीले गुमाएको बताए ।
कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले आफूले कलेजमा पढाएका विद्यार्थीमध्ये तारा सुब्बा विद्यार्थी समयदेखि नै असल व्यक्तित्व रहेको बताए । मुख्यमन्त्री शेरधन राईले तारा सुब्बाले देखेको धरानलाई स्मार्टसिटी बनाउने सपना पूरा गर्ने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको काँधमा आएको बताए । कार्यक्रममा सभामुख प्रदीप भण्डारी, प्रा.डा. टङ्क न्यौपाने, डा. भीम खतिवडा, सङ्घीय सांसद् जयकुमार राई, नेकपा सुनसरी सचिव रमेश बस्नेतलगायतले तारा सुब्बाले दिएको योगदानको बारेमा बोलेका थिए । दुवै मिर्गौला प्रत्यारोपण गरिएका सुब्बाको गत साउन १ गते निधन भएको थियो ।