वराहक्षेत्र/ वर्षाका कारणले पहिरो गएर अवरुद्ध भएको विद्युत् सेवा स्थानीयवासीले आफ्नै पहलमा मर्मत गरी सञ्चालन गरेका छन् ।

वर्षाका कारण दुई साताअघिदेखि सडक, विद्युत् र टेलिफोन सञ्चार अवरुद्ध भएपछि सामूहिक प्रयासमा विद्युत् सेवा सञ्चालनमा ल्याएका हुन् । पहिरोले गर्दा चतरा–वराहक्षेत्र सडक खण्डमा लडेका करिब १० वटा विद्युत्का पोल स्थानीय उपभोक्ता, प्रहरी र विद्युत् विभागका कर्मचारी मिलेर मर्मत गरेका छन् । आइतबार साँझदेखि बिजुली आएको वराहक्षेत्र संरक्षण मञ्चका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले बताए ।

२५ जना स्थानीय उपभोक्ता, वराहक्षेत्र प्रहरी चौकीका इञ्चार्ज असइ मोहन भुजेलसहित २ जना, धरानका २, चतराका २ गरी ४ जना विद्युत् कर्मचारी मिलेर शुक्रबारदेखि पोल मर्मत गरिएको श्रेष्ठले बताए । गाउँमा बिजुली आए पनि भोल्टेज भने अपर्याप्त भएको स्थानीयले बताए । वराहक्षेत्र टेक्सी स्टेण्डमा १५ किलोभोल्टको एकमात्र ट्रान्सफर्मर रहेको छ ।

बिजुली आए पनि सडक र मोबाइल अझै चालु नभएको श्रेष्ठले बताए । ‘हामीले चतरा आउन जान अझै ज्यान जोखिम मोल्नु परेको छ, पहाडको भित्तामा चार हात पाउ टेकेर जानुपर्छ’–श्रेष्ठले भने । चतरा आउजाउ गर्न बेलका नगरपालिकाको मैनामैनी भएर १७ नम्बरस्थित कोशी नदीमा रहेको वैकल्पिक झोलुङ्गे पुल भएर वर्षातको समयमा जोखिमयुक्त खोल्सी पार गर्नु परेको श्रेष्ठले बताए ।

सडक चालु नहुँदा स्थानीय मारमा परेका छन् । दैनिक उपभोग्य सामग्री महँगिएको छ भने बालबालिका स्कुल जान सकेका छ्रैनन् । ‘बच्चाहरूको पढाइ छुटेको छ ।’ वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरे भन्छन् । चतरा–वराहक्षेत्र बाटो खुलाउन मङ्गलबार रानी खोलाको पहिरो सफा गरिए पनि पानी परेर फेरि बाटो बन्द भएको बताइएको छ ।