धनकुटा/ तमोर नदीमा पौडी खेल्न गएका धनकुटाका एउटै परिवारका तीनजना बालबालिका आइतबार तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।
धनकुटा नगरपालिका–८ साङ्ताङ डाँडाटोल घर भएका वर्ष ३८ का शङ्खबहादुर आठपहरियाको ९ वर्षीय छोरा सञ्जीव आठपहरिया, ८ वर्षीया छोरी सलिना आठपहरिया र ६ वर्षीया छोरी सञ्जिला आठपहरिया तमोर नदीको किरनारमा पौडी खेल्ने क्रममा भेल बढेर आउँदा बगेर बेपत्ता भएको वडा नं. ८ का वडाध्यक्ष सुमन आठपहरियाले ब्लाष्टलाई बताए ।
उनीहरू धनकुटा नगरपालिका वडा नं.८ मा रहेको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत थिए । विद्यालयकी शिक्षिका मोहनकुमारी राईका अनुसार सञ्जीव आठपहरिया कक्षा–५, सलिना आठपहरिया कक्षा–२ र सञ्जिला आठपहरिया कक्षा–१ मा अध्ययनरत थिए ।
श्रावण सङ्क्रान्तिदेखि नै धान रोपाइँ गर्न साङ्ताङ बेँसी याक्चाना झरेका शङ्खबहादुर र उनकी श्रीमती आइतबार दिउँसो खेतमा काम गर्न गएको मौका छोपी उनीहरू तमोर नदीमा पौडी खेल्न गएका थिए । शङ्खबहादुर र उनकी श्रीमती रोहनश्वरी आठपहरिया खेतमा काम गरिहेको बेला आफ्ना छोराछोरीमाथि निगरानी नपुग्दा तीनै जना बालबालिकालाई नदीले बगाएर बेपत्ता पारेको अनुमान गरिएको छ ।
श्रीमान् शङ्खबहादुर र श्रीमती रोहनश्वरी खेतमा काम गरिरहेका बेला छोराछारीलाई भने गाईवस्तु चराउन पठाएका थिए । गाईवस्तु चराउन गएका बालबालिका नदीमा गएर पौडी खेल्ने क्रममा तीनैजनाको ज्यान गएको हो । उनीहरूले विगत लामो समयदेखि स्थानीय अइन्द्र आठपहरियाको खेत अधियाँमा कमाउँदै आएका थिए ।
शङ्खबहादुर आठपहरियाका १ छोरा र २ छोरीसँग खेत धनी अइन्द्र आठपहरियाका ९ वर्षका छोरा आनिष आठपहरिया पनि नदीमा खेल्न गएका थिए । पौडी खेल्ने क्रममा ३ जनालाई बगाएपछि अनिषले शङ्खबहादुरलाई खबर गरेको बताइएको छ ।
बेपत्ता भएका बालबालिकालाई तत्कालै परिवार, स्थानीय र आफन्तहरूले खोजी गरे पनि पत्ता नलागेपछि बुधबार मात्रै परिवारले प्रहरीलाई खबर गरेका थिए । घटना थाहा भएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदर्शन कोइरालाले बताए । उनका अनुसार खोजी कार्य गर्न नदी क्षेत्रमा मूलघाट र त्रिवेणी प्रहरी चौकीका प्रहरी परिचालन गरिएको बताइएको छ ।
शिक्षाको कमी र विपन्न वर्गका आठपहरिया दम्पतीका छोराछोरी के गर्दै छन् भनेर निगरानी गर्न नसक्दा आफूसँग भएका तीनैजना सन्तान नदीले बगाएपछि कोख रित्तिएको छ । पीडित परिवारलाई वडा कार्यालयको तर्फबाट राहतको लागि प्रक्रिया अगाडि बढाइएको वडाध्यक्ष सुमन आठपहरियाले बताएका छन् ।