भद्रपुर/ शिलान्यास भएको ६ दशकपछि निर्मित मेची खोलाको पुल स्थानीयका लागि ‘बाँदरको पुच्छर लौरो न हतियार’ भन्ने उक्तिसँग मिलेको छ ।
झापाको दक्षिणी क्षेत्र भद्रपुर–५ र भारतको पश्चिम बङ्गाल तथा विहार जोड्नको लागि मेचीनदीमा निर्मित पुल वर्षाको समयमा पनि प्रयोगविहीन बनेको हो । भारततर्फ बनेको अस्थायी सडक मेची खोलामा आएको बाढी तथा गाउँबाट निकास भएको पानीले बगाएपछि आवत–जावत ठप्प भएको छ ।
केही साताअघिको अविरल वर्षाका कारण बन्द भएको सडक बन्द भएको हो । बाढीले पश्चिम बङ्गाल तथा विहारको चेकपोष्ट डुबानमा परेको छ । झापामा एक हप्तायताबाट लगातार परेको पानीले यो समस्या निम्त्याएको हो । समस्या समाधानका लागि केही महिनायता नेपाल तथा भारतका अगुवाहरूबीच विहारतर्फ तत्काल अस्थायी सडक लैजाने सहमति भएको थियो ।
सहमतिअनुरूप सडक निर्माणपश्चात् सवारी साधनसमेत चल्न थालेका थिए । बाढीले सडक भत्काएपछि झापाको दक्षिणी क्षेत्र भद्रपुर, पृथ्वीनगर, बनियानी, केचनालगायतका गाउँबासीहरू काँकडभिट्टा नाकाबाटै जानुपर्ने अवस्था आएको स्थानीय खड्ग सुब्बाले बताए ।
भारततर्फ सडक नबनेका कारण दैनिक आवत–जावतमा समस्या भएको भारतमा व्यवसाय गर्दै आएका व्यवसायी राजन नेपालले बताए । बुधबार बिहानबाट आवत–जावत बन्द भएको भद्रपुर वडा प्रहरीका इन्स्पेक्टर यमकुमार श्रेष्ठले बताए । त्यसका लागि दुई देशका प्रहरीले आवश्यक सुरक्षा समन्वय गरिरहेको उनले जनाए ।
पुल सात महिनाअघि अर्थात् ०७५ माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । २०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पछिल्लो पटक पुलको शिलान्यास गरेका थिए ।