विराटनगर/ मोरङ सुन्दरहरैँचा नगरपालिका स्थित १६ महिनाको दीपचन राय गत शुक्रबार दिउँसो खेल्दाखेल्दै जोडले चिच्याएको आवाज आयो । उनका बाबु भोला तत्काल छोरा भएको ठाउँमा पुगेका थिए ।

त्यहाँ छोराको खुट्टाको गोलीगाँठबाट रगत बगिरहेको थियो । दायाँ, बायाँ हेर्न भ्याए, जहाँ छुइमा छोराको नजिक सर्पको बच्चा उनले देखे । भोलाले छोरालाई सर्पले डसेको अनुमान लगाए र खुट्टामा केही माथि कपडा बाँधिदिए । छोराको छेउमा रहेको भोलाले सर्प पनि मार्न भ्याए र तत्काल विराटनगरस्थित कोसी अञ्चल अस्पताल छोरालाई पुर्याए ।

उनले छोरासँगै मारेको सर्प पनि लिएर आएका थिए । आकस्मिक वार्ड इञ्चार्ज रघुनन्दन अधिकारीले सर्प हेरेपछि गोमन रहेको भन्दै बालकलाई एण्टिस्नेक भेनम चढाउन सहकर्मीलाई सुझाए ।

छोरालाई लिएर आउने भोला प्रतिनिधि पात्र हुन् । उनी जस्तै अहिले वर्षासँगै आएको विभिन्न खोलाको बाढी बस्तीमा पसेर बिसालु सर्पको बिगबिगी बढेर डस्न थालेपछि कोशी अञ्चल अस्पतालमा सर्पले डसेका बिरामी लिएर आउने सङ्ख्यामा वृद्धि भएको अस्पताले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढी र डुबानका कारण दुई हप्तादेखि सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको इन्चार्ज अधिकारीले बताए । उनका अनुसार दैनिक २० देखि २५ जना सर्पले टोकेका बिरामीहरू आउने गरेको जानकारी दिए ।

‘वर्षा परेसँगै सर्प टोकेका बिरामी अस्पताल आउनेको संख्यामा वृद्धी आएको छ,’ उनले भने । सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको अस्पतालले जनाएको छ । सर्पले डसेका बिरामी लिएर सीमावर्ती क्षेत्र भारतदेखिका बिरामी पनि कोशी अञ्चल अस्पतालमा आउने गरेका छन् ।

यस्तै मोरङ, सुनसरी, सिराह र सप्तरीका विरामी पनि यहाँ उपचारको लागि आउने गरेको अस्पातालले जनाएको छ । सबैभन्दा बढी बाढी प्रभावित क्षेत्रबाट सर्पले डसेका बिरामीहरू आउने गरका छन् ।

वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने चिकित्सकहरूले सुझाब दिएका छन् । ‘सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य गर्नु हुँदैन,’ कोशी अञ्चल अस्पतालका डा. सङ्ज्ञा ज्ञावलीले भने, ‘सर्पले डसेको बिरामीलाई लिएर जति चाँडो अस्पताल आउनु पर्दछ ।

सर्पले डसेपछि जति चाँडो अस्पताल आए विरामीको उपचार राम्रो हुनेछ ।’ सर्पले डसेको बिरामीलाई चाडै अस्पताल ल्याउन सके बचाउन सकिने उनले बताए । एकसातामा सर्पले डसेका २ सय भन्दा बढी विरामी अस्पताल भर्ना भइसकेका छन् । तीमध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।