ताप्लेजुङ/ शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले सम्पत्ति विवरण नबुझाउने १ सय ११ जना शिक्षकको नामावली सार्वजनिक गरेको छ । आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र बुझाइसक्नुपर्ने सम्पत्ति विवरण वर्ष दिन बितिसक्दा पनि नबुझाएपछि जिल्लामा कार्यरत शिक्षकको नामावली नै इकाईले सार्वजनिक गरेको हो ।

समन्वय इकाई प्रमुख भीमप्रसाद मिश्रले आर्थिक वर्ष २०७४/०७५ को सम्पत्ति विवरण नबुझाएका शिक्षकहरूको नामावली सार्वजनिक गरेको जानकारी दिए । मिश्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी प्राथमिक तहका शिक्षक रहेका छन् । प्रावि तहका १ सयजना शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।

यस्तै निम्नमाध्यमिक तहका ८ जना शिक्षकले र माध्यमिक तहका ३ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । आर्थिक वर्ष सकिएको ६० दिनभित्र अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाइसक्नुपर्ने कानूनी प्रावधान रहेको छ । सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूले अब जरिवाना बापत प्रतिवर्ष ५ हजार रुपैयाँ सरकारलाई राजश्व बुझाउनु पर्ने हुन्छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐनको दफा ३१ (क) अनुसार सार्वजनिक पद धारण गरेका व्याक्तिले पहिलो पटक नियुक्ती लिएको ६० दिन भित्र तथा सवै विद्यालयका शिक्षक कर्मचारीहरूले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको चल– अचल सम्पत्ति अद्यावधिक गरी सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

शिक्षक कर्मचारीका हकमा नाम–थर, सिटरोल नम्बर, तह, जिल्ला, श्रेणी, मोबाइल नम्बर, कार्यरत विद्यालय र ठेगाना तथा ई–मेल ठेगाना उल्लेख गरी विवरण पेश गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७५/०७६ को सम्पत्ति विवरण भने २०७६ भदौ २८ गतेसम्ममा बुझाइसक्नुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जानकारी दिएको छ ।