सुनसरी /  तपाई सवारी साधान लिएर इटहरी इटहरी आउँदै हुनुहुन्छ ? त्यसो हो भने पार्किङ क्षेत्रमा मात्रै सवारी रोक्नु होला । पार्किङ निषेधित क्षेत्रमा सवारी छाडेर जानु भयो भने ट्राफिक ले तपाईको सवारी साधनमा कुनै पनि बेला ह्वील लक लगाउन सक्छ । त्यस पछि तपाईले जरिवाना तिरेर मात्रै आफ्नो सवारी लैजान पाउनु हुनेछ ।

इटहरीमा सवारी साधनको चाप बढ्नु र पार्किङ क्षेत्र नहुँदा सडक व्यवस्थित गर्न अझै पनि गाह्रो भएको १ नम्वर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले बताए । उनका अनुसार इटहरीमा मात्रै दैनिक २५ जना ट्राफिक प्रहरी सवारी निगरानीमा परिचालन हुँदै आएका छन् । ‘सवारी साधनको बढी आवत जावत हुने ठाउँ र मुख्य राजमार्गमा बढी निगरानी गर्छौं’ कार्यालय प्रमुख दाहालले भने ‘इग्नोरेन्स बडी भयो, त्यसैले हामी ‘एग्रेसिभ’ लागेका हौं ।’ सार्वजनिक बसले अनिवार्य रुपमा बसपार्क जानु पर्ने र अल्पकालिन रुपमा तोकिएको स्थानमा मात्रै पार्क गर्नु पर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी व्यवसस्थापनको लागि इटहरी उपमहानगरपालिकाको सहयोगमा एक सय ५० वटा र ट्राफिक प्रहरी कार्यालयले ५० वटा सचेतना बोर्ड तयार गरी सडकमा लगाउने काम भएको उनले बताए । साथै बसपार्क पनि व्यपस्थित हुने क्रम बढेको छ । इटहरीमा तीन पाङ्ग्रे ‘स्लो मोसन भेकल’हरु भित्री रुटको लागि हुन् । ती सवारी साधनलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई मूख्य चुनौति रहेको छ । अहिले इटहरीमा तीन पाङ्ग्रे सवारी साधन सात हजार भन्दा बढी सञ्चालनमा रहेको अनुमान गरिएको छ ।

पार्किङ अभावमा नीजी सवारीसँगै तीन पाङ्ग्रे सवारीले सवारी साधनको चापले अस्तव्यस्त बन्दै गएको इटहरीको मुख्य चौक क्षेत्रको सडकमा सवारी साधनको व्यवस्थापन चुनौति बन्दै गएको स्थानीय बताउछन् । एक नम्वर ट्राफिक प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षदेखि यता पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिएका २ सय २ वटा सवारीलाई जरिवाना तिराएको छ । उनीबाट एक लाख तीन हजार रुपैयाँ जरिवाना तिराएको जनाइएको छ । यस्तै तिव्र गतिमा सवारी चलाउने ८ सय ९२ सवारीबाट ४ लाख ७५ हजार रुपैयाँ राजस्व भराएको छ । अहिले इटहरीमा २५ वटा सवारीले ह्वील लकको जरिवाना तिरेका छन् । ह्वील लक विगार्ने दुई जनालाई मुद्धा चलाई कारवाही अघि बढाएको पनि ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै जुत्ता तथा पोशाक नलगाउने दुई हजार ६ सय ५७ वटा सवारी चालक कारवाहीमा परेका छन् । यो तथ्याङ्क इटहरी क्षेत्रको हो ।

यसरी गरियो इटहरीको ट्राफिक व्यवस्थापन

एक वर्ष अघि इटहरी ६ नम्वर वार्ड अध्यक्ष दिपक गौतमको संयोजकत्वमा गठित समितिले इटहरीको ट्राफिक व्यवस्थापनको अल्पकालिन प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदन अनुसार पूर्वबाट इटहरीतर्फ आउने बसहरुलाई मिलन चौक नजिक स्ट्याण्ड कायम गर्ने गरी प्रतिवेदन बुझाएको थियो । पूर्व तर्पm जाने बसलाई साबिककै स्थान खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अगाडी स्ट्याण्ड कायम गर्ने, पश्चिमतर्फ जाने एवं आउने बसहरु बसपार्क भित्रै पार्किङ गर्ने, इटहरी हुँदै धरानतर्फ जाने बसलाई नेपाः भवनको बिपरित स्ट्याण्ड कायम गर्ने गरिएको छ । बिराटनगरबाट इटहरी आउने बसलाई पाथिभरा नर्सरी स्ट्याण्ड कायम गर्ने र खाँदबारी, भोजपुर, तेह्रथुम जाने बसहरुलाई बसपार्कमा पार्किङ गर्ने प्रतिवेदनमा जनाइएको थियो ।

यस्तै ठूला मालबाहक ट्रक आदी सबारी साधनलाई एकदिन भन्दा बढी पार्किङ गर्न ट्राफिक प्रहरी कार्यालयको पूर्वतर्फबाट दक्षिण पट्टि रहेको जमिन पुरेर व्यवस्थापन गर्ने र उल्लेखित बस स्ट्याण्डहरुमा इ रिक्सा एवं अटो समेतलाई पार्किङको व्यवस्थापन गर्ने भनिएको थियो । अटो रिक्सा भाडाका ट्याक्सी म्याजिक टेम्पो पश्चिम तर्फ झुम्का इनरुवा जाने म्याजिक र टेम्पो खेतीखोलाको पश्चिम पट्टिको सडकको उक्तर साइडमा प्रशान्ती नर्सरी भएको स्थानमा पार्किङको व्यवस्थापन गरिन प्रतिवेदनमा उल्लेख छ ।

इटहरीबाट पूर्व बेलबारीसम्म जाने म्याजिक र टेम्पोलाई टेयाङ्गग्रा खोलाको पूर्व पट्टि उतर साइडको खाली स्थानमा संख्या तोकी पार्किङ व्यवस्थापन गरिने । सामान ढुवानी गर्ने पिकअपहरु खेतीखोला पश्चिम प्रशान्त नर्सरीको उत्तर साइडमा पार्किङ गर्ने, रातो नम्बरका ट्याक्सीहरुलाई राधाकृष्ण पेट्रोल पम्प देखि पश्चिम महेन्द्र राजमार्गको दक्षिण साइडमा स्ट्याण्ड लगाउने प्रतिवेदनमा उल्लेख छ । कालो प्लेटका ट्याक्सीहरुलाई हिरा होटल आसपासमा चारवटा स्ट्याण्ड कायम गर्ने र पश्चिममा बिराटनगरबाट आउने म्याजिक २ वटा र लोकल २ गरी ४ वटा म्याजिक साबिक ठाँउमा राख्ने (पेरिस होटल अगाडी) स्ट्याण्ड कायम गरिने भनिएको थियो ।

प्रतिवेदनमा पश्चिमतर्फ बसपार्क जाने बाटो छेउ इ रिक्सा र अटोको स्ट्यान र मोटरसाइकल नवरङ्ग टिभि सेन्टरदेखि पश्चिम र आमा सपिङ्ग मोडबाट पूर्व र उत्तर साइडमा हिरा होटलदेखि दक्षिणतर्फ एक साइडमा पार्किङको व्यवस्था गर्न सकिने प्रतिवेदन तयार गरिएको थियो । पूर्वतर्फ राजमार्गको दक्षिण तर्फको भित्री सडकमा जि फोर कलेक्सन अगाडीबाट पश्चिमतर्फको खाली भाग र राजमार्गको उत्तर अम्बिका प’स्तक पसलको अगाडीको खाली भागमा पार्किङको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । उत्तरतर्फ आकेश कलेक्सनदेखि बिश्व आर्दश कलेज छिर्ने मोडसम्म फुटपाथ छाडेर एकलाईन मिलाएर मोटरसाइकल पार्किङको व्यवस्था गरिएको थियो । पूर्वतर्फ राष्ट्रिय बाणिज्य बैकको अगाडी र आई सिनेमा हलको अगाडीको भागमा फुटपाथको भाग छाडेर पार्किङको व्यवस्था गरिनु अल्पकालिन रुपमा उपयुक्त हुने प्रतिवेदन इटहरी उपमहानगरपालिमा बुझाइएको थियो ।