धरान/किरात राई यायोक्खाको ३२ औं स्थापना दिवसमा विविध कार्यक्रम गरी मनाएको छ ।

यायोक्खाले वृक्षरोपण, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण र रक्तदान कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । यायोक्खाको स्थापना दिवस साउन २२ गते पर्छ । बुधबार किराया सुनसरीले अध्यक्ष बलराम राईको नेतृत्वमा धरान–१७ साकेला पार्कमा विभिन्न प्रजातिका १ सय ३२ बिरुवा रोपण गरेको छ । पार्कमा एभोकाडो, कपुर, जामुन, स्वामी, चिउरी जातका बिरुवा रोपण गरिएको हो ।

त्यस्तै धरान–११ रिटिङ बस्तीमा सीता देवानले सञ्चालनमा ल्याएको अनाथ आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको हो । करिब १३ हजार मूल्य बराबरको चामल, तेल, दाललगायतका सामग्री प्रदान गरिएको छ । त्यसक्रममा विद्यार्थीहरूलाई ४ दर्जन कापी प्रदान गरिएको छ । किराया नगर कमिटीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईको नेतृत्वमा सामग्री प्रदान गरिउको हो । आश्रममा १२ जना अनाथ बालबालिका बस्दै आएका छन् । उनीहरू विभिन्न स्कुलमा अध्ययरत छन् ।

बिहीबार जिल्ला, नगर र प्रकासको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्राहालयमा गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत सङ्कलन भएको छ । कार्यक्रममा संस्थाकी विशिष्ट संरक्षक सदस्य हिमाल राईको प्रमुख उपस्थितिमा भएको रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।