विराटनगर/ दोस्रो संस्करणको प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारू आइकन २०७६ विराटनगरमा हुने भएको छ । थारू कला केन्द्रको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस थारू आइकन हुने भएको हो ।

थारू कला संस्कृतिको जगेर्ना गर्नुको साथै थारू सामुदायका किशोर किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको पहिलो अडिसन साउन ३० गते सुनसरीको झुम्कामा हुने भएको छ । साउन ३२ गते गाईघाट, भदौ २ गते दुहबी, ५ गते बिर्तामोड, भदौ ६ गते डाँगीहाट र भदौ ८ गते विराटनगरमा हुने थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० र सेकेण्ड रनरअपले २० हजार रुपैयाँको साथै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । छनौट भएका प्रतियोगीहरूलाई बन्द प्रशिक्षणमा थारू समुदायका कला–संस्कृति, भेषभूषा, भाषा र रीतिरिवाजको बारेमा जानकारी गराउने अध्यक्ष विश्वासले बताए ।

प्रतियोगिताको फाइनलमा मिस्टरतर्फ २५ र मिसतर्फ २५जना छनौट हुनेछन् । ‘छनौट भएका प्रतियोगीहरूलाई एक महिनाको बन्द प्रशिक्षण दिनेछौं’ अध्यक्ष विश्वासले भने, ‘प्रशिक्षणमा प्रतियोगीहरूले आफ्नो कला–संस्कृतिको बारेमा विज्ञ टोलीले जानकारी गराउँछन् ।’

प्रतियोगीमध्ये एक जनालाई नोबेल मेडिकल कलेजले स्टाफ नर्स अध्ययन गर्न पूर्ण छात्रवृत्ति पनि दिनेछ । प्रतियोगिताको फाइनल दशैंअगाडि हुने बताइएको छ । उक्त प्रतियोगिताको फाइनल विराटनगरमा हुनेछ । गतवर्षको मिस थारूको विजेता शिवानी चौधरी भएकी थिइन् भने मिस्टर थारु तेजेन्द्र विश्वास भएका थिए ।