धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिकामा नेकपा र काङ्ग्रेसबीचको जुहारी शुरु भएको छ । कार्यपालिका एवम् न्यायिक समिति सदस्य बालकृष्ण राईमाथि नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाले लगाएको आरोपको नेपाल कम्युनिष्ट पार्टी गाउँ कमिटीले खण्डन गरेको छ ।

साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित जनजाति पार्क, सूर्योदय बुद्धविहार लगायतका क्षेत्रमा जाने सडक भत्काएको विषयमा नाम्जेस्थित स्थानीयथुम्कीबासी ले स्वतः स्फूर्त रूपमा गरेको विरोधमा कार्यपालिका सदस्य एवम् नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका सदस्य बालकृष्ण राईको पनि संलग्नता रहेको भनी नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाले जारी गरेको विज्ञप्तिप्रति नेकपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका अध्यक्ष देवमान राईले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थानीय सरोकारवालाहरूको निर्णयलाई ऐक्यबद्धता जनाउँदै सडक भत्काउने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कठघरामा उभ्याउनको लागि जोडदार माग गरिएको छ ।’

साँगुरीगढी गाउँपालिकाको सार्वजनिक सरोकारको जानजाति पार्क, सूर्योदय बुद्धविहार लगायतका क्षेत्रमा जाने सडक २०७१ सालमा स्थानीय समुदायले सम्बन्धित जग्गावालाहरूको आम सहमतिमा निर्माण गरी सञ्चालन भइरहेको थियो । सोही सडकअन्तर्गत रहेको कि.न.३३७ को जग्गा इटहरी उपमहानगरपालिका–५ का प्रमोद राईले १ अघि किनेका थिए ।

गत आर्थिक वर्षमा १ नम्बर प्रदेश सरकारको ४० लाख ससर्त अनुदानमा स्तरोन्नति गरी निर्विवाद सञ्चालन हँुदै आएको उक्त सडकमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ धनकुटाका सभापति जितेन्द्र रुम्दाली राईको प्रत्यक्ष संलग्नतामा जग्गाधनी प्रमोद राईले डोजर लगाएर भत्काएको आरोप लगाइएको छ ।

त्यस्तै गाउँ तथा नगर कार्यपालिका सदस्य जिल्ला समन्वय समितिले पनि प्रेस विज्ञप्तिमार्फत् समन्वय समितिका सचिव बालकृष्ण राईमाथि लगाइएको आरोपको विरोध गरेको छ । गाउँ तथा नगर कार्यपालिका सदस्य मदन बसेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा साँगुरीगढी गाउँपालिकाका कार्यपालिका सदस्य एवम् यस समन्वय समितिका सचिव बालकृष्ण राईमाथि नाम्जेको सार्वजनिक सडक भत्काएको विषयमा स्थानीयवासीहरूको स्वतः स्र्फूत भएको आम भेलामा संलग्न भएको भनी नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ धनकुटाले लगाएको आरोप गलत भएको उल्लेख गरेको छ । तर, नेपाली काङ्ग्रेस १ नम्बर क्षेत्रीय समितिले भने सदस्य राईले नै आम भेला बोलाएर निर्णय गराएको तर आफूले हस्ताक्षर नगरी चलाखी गरेको आरोप लगाएको छ ।

गाउँपालिकाका विभिन्न समितिहरूको जिम्मेवार पदमा बसेका व्यक्तिले नै षड्यन्त्र गरे पनि आफ्नो गलत कामलाई ढाकछोप गर्नको लागि अरूलाई दोष लगाउन खोजिएको काङ्ग्रेस सभापति राईले आरोप लगाए । यस विषयमा विवाद सिर्जना गर्ने काम गाउँपालिकाको कार्यपालिका सदस्य बालकृष्ण राईले नै गरेको भन्दै शुक्रबार गाउँपालिका कार्यालयमा नेपाली काङ्ग्रेस १ नम्बर प्रदेश समितिले ताला लगाएको थियो । काङ्ग्रेसले लगाएको ताला आइतबार गाउँपालिका अध्यक्ष कुमार जङ्ग याखाको समन्वयमा खुलाइएको थियो ।