धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान नगर कमिटीको सपथ ग्रहण आगामी भदौं ३ गते हुने भएको छ ।

नेकपा सुनसरीको स्थानीय तह पार्टी एकीकरण कार्यदलले सिफारिस गरेको नाम हटाएर प्रदेशले आफु खुसी नाम राखेसँगै विवादित बनेको सपथ ग्रहणको बाटो खुलेको हो । प्रदेश सचिव हिमाल किरातीले नगर सदस्यको नाममा राख्दा आफ्नो कमजोरी रहेको स्वीकारेपछि सपथ ग्रहणका लागि भदौं ३ गतेको मिति स्वीकृत गरिएको छ । बुधबार नेकपा सुनसरीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) र धरानका साविक माओवादी केन्द्र तर्फका जिल्ला सदस्यहरुको बैठकले सपथ ग्रहणलाई अगाडी बढाउने निर्णय गरेको छ ।

बैठकमा जिल्ला अध्यक्ष योगेन्द्र मण्डलले प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले र सचिव हिमाल किरातीसँग छलफल गरेका थिए । यसअगि जिल्ला कार्यदलले सिफारिस गरेको नाम प्रदेशले आफूखुशी हटाई अन्य नाम राखेपछि सच्याउन माग गर्दै जिल्ला सदस्यहरुले असार २० गते जिल्ला र प्रदेशमा निवेदन दिएका थिए ।