इलाम/ देउमाई नगरपालिकाको जितपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ ।
यति मात्र होइन, ल्यापटपमा तयारी गरिएको पाठयोजनालाई प्रोजेक्टरमा जोडेर मल्टिमिडियाबाट पढाउने काम हुन्छ । शिक्षकले पाठ्यपुस्तकमा भएको मात्र पढाउनेभन्दा पनि बाहिरका कुरासमेत समेटेर प्रस्तुति दिँदा यसप्रति विद्यार्थीको अध्ययनप्रति चासो बढेको देखिन्छ । नयाँ प्रविधिमा विद्यालय गएसँगै विद्यार्थीले समेत धेरै कुरा देखेकै भर जान्ने हुन्छ र धेरै कुरा पढाइरहन पर्दैन । जिल्लाका नमूना विद्यालयमध्येको एक यस विद्यालयमा शिक्षकलाई मात्र नभई विद्यार्थीलाई समेत सहज रूपमा अध्ययनमा लाग्न कक्षामा भएका कम्प्युटर सहयोगी बनेको छ ।
“हामी शिक्षकले पाठ्यपुस्तकको मात्र पढाउनुपर्ने बाध्यता छैन किनकि इन्टरनेटमा थप कुरा खोजेर पनि सिकाउन सकिन्छ,” विद्यालयका प्रधानाध्यापक गोविन्द बरालले भने, ‘कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट पढाउँदा विद्यार्थीलाई पनि पढे जस्तो अनुभव हुँदैन । त्यसैले सिक्न धेरै सहज हुन्छ ।’
विसं २०६३ मा चिनियाँ राजदूतावासले चारवटा कम्प्युटर दिएपछि दुःखले नयाँ प्रविधिबाट पढाइ शुरु गरिएको यस विद्यालयमा अहिले २१ वटा ल्यापटप त शिक्षकलाई घरघर लग्न दिने गरिएको छ । शिक्षकलाई घरमै भोलिपल्ट पढाउने विषयका बारेमा तयारी गर्न ल्यापटप दिइएको हो । “शुरुआती वर्ष भएकाले पनि तयारी गर्न शिक्षकलाई गाह«ो हुन्छ, घरघरमा ल्यापटप लग्न दिए शिक्षकले घरमै तयारी गर्नसक्ने भएकाले उहाँहरूलाई दिएका हौँ,” प्रधानाध्यापक बरालले भने,‘अबको आउँदो शैक्षिक सत्रमा चाहिँ सबै कक्षा कक्षामा मल्टिमिडियाबाट पढाउने गरी तयारी गरिरहेका छौँ ।’
यतिमात्र नभई लामो समयदेखि शिक्षण पेशामा रहनुभएका र कम्युटरसम्बन्धी ज्ञान नभएका शिक्षकका लागि भने डिजिटल प्रविधि सिक्न तालिमसमेत दिइँदै आइएको छ । सबै शिक्षकलाई समान ज्ञान दिलाउन र प्रविधिमा दक्ष बनाउन विद्यालयले गएको मङ्सीरदेखि असारसम्म प्रशिक्षण समेत दिएको थियो ।
यस विद्यालयमा दुई दर्जनभन्दा बढी कम्प्युटर र ल्यापटप अहिले अध्ययन–अध्यापन गराउनकै लागि प्रयोग गर्ने गरिएको छ भने विद्यालयका कक्षा कक्षामा सिसी क्यामरासमेत राखिएका छन् । यसले गर्दा शिक्षकले आफ्नो कक्षा समय पढाउँदै गरेको छ वा छैन वा विद्यार्थीले पढेको छ वा छैन भन्ने बारेमा समेत थाहा पाउन सहज भएको छ । ‘हामीले विद्यार्थीका कक्षाका साथै स्टाफ रुममा समेत सिसी क्यामरा जोडेका छौं, शिक्षकले पनि आफ्नो पिरियडमा पढाएको÷नपढाएको जान्न एकदम सहज भएको छ ।’ बरालले भने । विद्यालयमा अहिले विद्युतीय हाजिरी संयन्त्रसमेत जोडिएको छ ।
इलाम बजारमा रहेको आदर्श माध्यमिक विद्यालयमा पनि डिजिटल प्रविधिको प्रयोग गरेर शिक्षण गरिन्छ । अदर्श मावि वि.सं. २००४ सालमा स्थापना भएको हो । यो इलामकै पुरानो विद्यालय हुनुका साथै प्रदेश नं १ कै पहिलो डिजिटल प्रविधिमा गएको विद्यालय हो । यस विद्यालयमा डिजिटल माध्यमबाट पढाउन भन्दै केन्द्रीय सरकारबाटै कार्यक्रम आएपछि विद्यालयले भर्खरैदेखि यो प्रविधि अपनाउन शुरु गरेको हो । इलामका जितपुर माध्यमिक विद्यालयमा र आदर्श माध्यमिक विद्यालयमा डिजिटल प्रविधि प्रयोग गरी प्रभावकारी शिक्षण गर्ने गरिएकाले यी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो रहेको छ भने विद्यार्थीको सिकाइको स्तरमा पनि सुधार आएको छ ।
विद्यालयका १२ वटा कक्षामा स्मार्ट बोर्ड राखिएको छ भने विद्यार्थीलाई पढ्न सहज पारिदिन विद्यालयले नै ई–लाइब्रेरीलाई प्रयोगमा ल्याएको छ । विद्यालयमा इन्टरनेटको समेत व्यवस्था छ । कक्षा १ देखि ५ सम्म नेपालीका अतिरिक्त अङ्ग्रेजी माध्यमबाट समेत पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताए ।
उनका अनुसार कक्षा ६ देखि ८ सम्म ऐच्छिक विषयका रूपमा कम्प्युटर पढाइ हुने गरेको छ । अहिले विद्यालयमा सूचना तथा प्रविधि विभागबाट प्राप्त ५० वटा कम्प्युटर, १२ वटा स्मार्ट बोर्ड र १२ वटा सिसी क्यामरा छन् । प्रधानाध्यापक पौडेलका अनुसार २० वटा सिसी क्यामरा प्रदेश नं १ र स्थानीय सरकारले उपलब्ध गराएको हो ।
जितपुर र आदर्श माध्यमिक विद्यालय मात्र होइन, जिल्लाका अधिकतर सरकारी विद्यालयमा अहिले डिजिटल प्रविधि भित्रिएको छ भने विद्यालय विद्यालयमा मल्टिमिडियाबाट पढाइ हुन्छ । यो प्रविधिबाट पढाउँदा विद्यार्थीलाई बुझ्न सहज हुने मात्र होइन शिक्षकलाई पनि पढाउन सहज हुने गरेको विज्ञहरू बताउँछन् । यसले गर्दा घोकन्ते विधिको प्रयोग घट्ने र पढेको अनुभूति विनै विद्यार्थीले जान्ने भएकाले प्रविधितर्फ आकर्षण बढेको देखिन्छ । एउटा प्रविधिबाट अर्को प्रविधिमा जाँदा समस्या देखिने भए पनि विस्तारै नयाँ प्रविधिबारे शिक्षक अभ्यस्त बन्दै जाँदा सहज हुने शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ मगरले बताए ।
“हाम्रा विद्यालयले यो प्रविधि अपनाउँदा भोलि पनि यसलाई निरन्तरता दिन सक्नुपर्छ । प्रमुख मगरले भने, ‘आज डिजिटल प्रविधिमा जाने भोलि चाहिँ आर्थिक र प्राविधिक समस्याले फेरि पुरानै प्रविधिमा फर्कने गरी यो प्रविधि शुरु गर्नुहुँदैन ।’
मगरका अनुसार यस प्रविधिमा जान पुराना शिक्षकलाई केही असहज हुन्छ । धेरैले कम्प्युटर चलाउन समेत नजान्ने भएकाले पुरानै प्रविधिबाट पढाउनु पर्ने स्थिति पनि रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले माध्यमिक तह पढाइ हुने सबै विद्यालयमा डिजिटल हाजिरी शुरु गरेको छ भने अर्को वर्षदेखि अन्य तहका विद्यालयमा पनि यसलाई पु¥याउने योजनामा छ ।
यस्तै, जिल्लाको माईजोगमाई गाउँपालिकाले अमर कल्याण माध्यमिक विद्यालयमा डिजिटल प्रविधिको प्रयोग शुरु गरेको छ । केही विद्यालयले विद्युत् आपूर्तिको समस्याले गर्दा यो प्रविधि शुरु गर्न सकेको छैन । आफ्नै लगानीमा भए पनि धेरै विद्यालयले डिजिटल प्रविधि पछ्याएको देखिन्छ ।
सरकारले ४० वटा सरकारी सेवालाई विद्युतीय माध्यमबाट लाने तयारी गरेसँगै विद्यालयलाई पनि डिजिटल माध्यममा लग्न शुरु गरिएको शिक्षा तथा प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवको भनाइ छ ।
‘हामी अहिले कर तिर्ने, मालपोत सेवा, सवारी चालक अनुमतिपत्र जारी लगायतका ४० वटा सरकारी सेवालाई डिजिटल प्रविधिमा लग्ने योजनामा छौं,’ उनले थप्दै भने, ‘सार्वजनिक सेवामा सबैको पहुँच पु¥याउन यो प्रविधि शुरु गरिएको हो । कम्तीमा पनि सेवाग्राहीले घरमै बसेर वा एकै ठाउँमा रहेर सेवा लिन सक्ने गरी सेवा दिन पनि यो प्रविधि शुरु गरिएको हो ।’ सूचना प्रविधिको प्रयोग सबै नागरिकले अधिकतम रूपमा गर्न सकूँन् भनेर सरकारले यो कदम चालेको महानिर्देशक यादवले बताए ।