कालाबन्जर / वराहक्षेत्र नगरपालिका–३, ४ र ५ नम्बर वडाको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रमको अवसर पारेर विवाहिता र अविवाहिताबीच छुट्टाछुट्टै नृत्य प्रतियोगिता गरिएको छ ।
तीजको अवसर पारेर शनिबार गरिएको प्रतियोगितामा अविवाहिततर्फ सीमा ढकाल विजेता बनेकी छन् । त्यस्तै विवाहितबाट सिर्जना बस्नेत विजेता बनिन् । अविवाहिततर्फ स्मृति बराइली, र अस्मिता सुवेदी क्रमशः दोस्रो र तेस्रो बने । त्यस्तै विवाहिततर्फ युना राजधामी र पवित्रा थापा क्रमशः दोस्रो र तेस्रो बने । म्यूजिकल चियर प्रतियोगितामा सोनिका पौडेल प्रथम बनेकी छन् । त्यस्तै दीपा भट्टराई र मनिषा तामाङ क्रमशः दोस्रो र तेस्रो बनेका छन् ।
कार्यक्रममा लोपोन्मुख सङ्गीनी गीतसमेत गाइएको थियो । उनीहरूललाई साँडी र प्रमाण–पत्र प्रदान गरिएको छ । ५ नम्बर वडा कार्यालयमा सम्पन्न प्रतियोगिताको निर्णायकमा अधिकलाल चौधरी र तिलकबहादुर बस्नेत, यशोदा मगर रहेको कार्यक्रम सञ्चालक बिमला घिमिरेले बताइन् । कार्यक्रममा ११ जनाले सङ्गीनी गीत गाएका थिए । विजेताहरूलाई प्रमुख अतिथि नेकपाकी केन्द्रीय सदस्य भवगती चौधरी, प्रदेश १ की सांसद् उमिता बराइली, आदिवासी जनजाति महासङ्घ सभापति सन्तकुमार राइ, सभापति सम्झना खड्कालगायतले पुरस्कार प्रदान गरे ।
कार्यक्रमकी प्रमुख अतिथि चौधरीले तीजमा महिलाहरूलाई मात्रै बिदा दिने प्रचलन विभेदकारी भएको बताइन् । उनले नारीबिना पुरुष असम्भव हुने र पुरुषबिना नारी पनि असम्भव हुने भएकाले सार्वजनिक बिदा दिँदा सबैका लागि दिनुपर्ने बताइन् । तीजलाई रचनात्मक बनाउनका लागि सांसद् बराइलीले सुझाव दिइन् । उनले छोरीचेलीमाथि हुने विभेदको अन्त्य हुनुपर्ने बताइन् । यस्ता चाडहरूले छोरीमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।