धरान । महिला तथा घरेलु हिंसासम्बन्धी कानूनमा भएका प्रावधानका विषयमा धरान ५ नम्बर वडाबासीलाई जानकारी गराइएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय धरानले आइतबार धरान–५ देउरालीको हिमाली मावि परिसरमा महिला तथा घरेलु हिंसा सम्बन्धी जानकारी गराइएको हो । त्यस्ता हिंसामा परेका मानिसहरूले कसरी उजुरी गर्ने र कानूनमा भएका प्रावधानको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेल र इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी गराए । धरान–५ नम्बर वडाध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब २ सयभन्दा बढी वडाबासी सहभागी बनेका थिए ।
त्यस्तै इप्रका धरान परिसमा ज्येष्ठ नागरिकको सुरक्षा र उनीहरू विरुद्ध हुने अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयमा पनि छलफल गरिएको थियो । त्यसक्रममा ज्येष्ठ नागरिकको गुनासो सुन्नका लागि प्रहरी अधिकारी नै तोक्दै सेवा दिने प्रतिवद्धता गरिएको छ । कार्यक्रममा ज्येष्ठ नागरिकका समस्याहरू सुन्दै त्यसको सुनुवाइ गर्ने विषयमा पनि प्रतिवद्धता गरिएको छ ।
सरकारले सार्वजनिक सवारी साधनमा तोकेको छुटलाई यातायात व्यवसायीहरुले लागू नगरेकाले त्यसविषयमा प्रहरीले गम्भीर रुपमा लिने, बीपी प्रतिष्ठानमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्था हुनुपर्ने, ज्येष्ठ नागरिकको एकिन तथ्याङ्क राख्नुपर्नेलगायतको प्रतिवद्धता गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ज्येष्ठ नागरिक मिलन केन्द्र धरानको समन्वयमा भएको कार्यक्रममा करिब ९० जना ज्येष्ठ नागरिक सहभागी बनेका थिए ।