उदयपुर/ उदयपुरमा कानून विषयको पठन–पाठन शुरु भएपछि विद्यार्थीको चाप बढेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यमिक विद्यालयले कक्षा ११ बाट कानून विषयको पठन–पाठन शुरु गरेपछि विद्यार्थीको चाप बढेको हो ।
जिल्लामै पहिलो पटक कानून विषयको पठन–पाठन शुरु गरेकोले भर्ना हुन आउने विद्यार्थीको उल्लेख्य चाप बढेको विद्यालयका प्रध्यानाध्यापक देवनाथ चौधरीले बताए । अहिलेसम्म करिब ५२ जना विद्यालयमा भर्ना भइसकेको र अझै विद्यार्थी भर्ना हुन आउने क्रम जारी रहेको प्रअ चौधरीले बताए ।
समाजको आवश्यकता र शिक्षामा गुणस्तरीयतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानून विषयको पठन–पाठन सञ्चालन गरेको प्रअ चौधरीले बताए । सरकारले कक्षा १२ सम्म विद्यालय तहमा समेटेपछि कानून र शिक्षा सङ्कायको पठन–पाठन सञ्चालन गरेको हो । नगरबाट स्वीकृति लिएर दुई विषयको पठन–पाठन सञ्चालन गरेको प्रअ चौधरीले बताए ।
विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृति दिएर कानून विषयलाई विशेषरूपमा लिई सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । कानूनप्रति विद्यार्थीको मोह बढेकाले विद्यालयले लिएको लक्ष्यभन्दा बढी विद्यार्थीको चाप बढेको उनले बताए ।
स्थानीय तहमै विद्यालयले न्यून शुल्कमा कानून विषयको पठन–पाठन शुरु गरेपछि न्यून आयस्रोत भएका परिवारको विद्यार्थीले पनि पढ्न पाउने भएको छ । न्यून शुल्क र स्थानीयस्तरमै कानून विषयको पढाइ शुरु भएपछि विद्यार्थीको चाप बढेको शिक्षक अष्टबहादुर राईले बताए । विभिन्न क्याम्पसमा अध्यापन गराउने दक्ष शिक्षकहरू र न्यून शुल्क अनि स्थानीय तहमै कानून पढ्न पाइने भएपछि विद्यार्थीको चाप बढेको उनले बताए ।
समाजको माग र आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले चालेको कदम उत्साहजनक रहेकाले आगामी वर्षहरूमा अन्य विषय थप्दै जाने विद्यालयको योजना रहेको शिक्षक राईले बताए । अहिले विद्यालयले कक्षा ६ देखि ऐच्छिक विषयको रूपमा कम्प्युटर शिक्षा पनि प्रदान गर्दै आएको उनले बताए ।
कानून नहुने हो भने केही नरहने त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए । एउटा न्यायाधीश वकिल मात्रै नभई अन्तर्राष्ट्रिय तहको महान्यायाधीवक्तासमेत हुने बाटो खुलेको उनले बताए । कानून विषयमा क्याम्पस नै बनाउनको लागि पहल गर्न पनि नगर तयार रहेको छ । यस विषयलाई गुणस्तीय बनाउनका निम्ति आवश्यक सहयोग गर्न नगर तयार रहेको मेयर चौधरीले बताए ।
विद्यालयले कानून विषयमा भर्ना भएका नयाँ विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेको थियो । वडाको सहयोगमा दुईकोठे पक्की भवन निर्माण गर्ने र तत्काल पुस्तकालय निर्माण गरी प्रभावकारी पठन–पाठन गर्ने विद्यालयले जनाएको छ ।