लक्ष्मीमार्ग/ धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्र्रािष्ट्रय आमन्त्रण गोल्डकपको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई २–१ ले हराउँदै धरान फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।
रोमाञ्चक खेलमा धरानले शुरुवातदेखि नै एकेडेमीमाथि दबाव कायम राखेको थियो । धरानको जितमा बर्तमान राई र कर्ण लिम्बूले एक–एक गोल गरे । मदन भण्डारी स्पोटर््स एकेडेमीका सुसन तामाङले सान्त्वना गोल फर्काएका थिए ।
खेलको छैठौं मिनेटमा राईको गोलबाट अग्रता बनाएको धरानका लागि ८१ औं मिनेटमा कर्णले अग्रता दोब्बर पारेका थिए । ८७ औं मिनेटमा सुसनले गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल गर्न नसक्दा एकेडेमी हार भोग्न बाध्य भयो ।
खेलमा धरान फुटबल क्लबका रोशन भुजेल म्यान अफ दि म्याच घोषित भई ५ हजार रुपैयाँ हात पारे । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) विभागीय टोली एपीएफ र पाहुना टोली रोयल क्लब सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुनेछ ।