उदयपुर/ उदयपुरमा शिक्षकहरूले चार महिनाको तलबसँगै दशैँ पेश्की नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

त्रियुगा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले दुई महिनाको तलब र दशैँ पेश्की मात्रै पाएपछि नगरपालिकामा आइतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत वर्षहरूमा चार महिनाको तलब र दशैँ पेश्की पाउँदै आएका शिक्षकहरूले यसपालि दुई महिनाको तलब र दशैँ पेश्की मात्रै पाएपछि नेपाल शिक्षक सङ्घ त्रियुगा नगरकार्यसमिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रियुगा नगर कार्यसमिति र नेपाल शिक्षक सङ्गठन त्रियुगा नगरकार्यसमितिले संयुक्तरूपमा नगरका उपमेयर देवीकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापालाई ध्यानाकर्षण पत्रसँगै प्रेस विज्ञप्तिसमेत बुझाएको थियो ।

नगरले यस विषयमा विशेष ध्यानाकर्षण गरिसकेको र पहिला दिने चौमासिक तलब अहिले तीन महिनामा दिने व्यवस्थाले गर्दा थोरै फरक परेको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । केन्द्रीय सरकारले जति पठाएको हो, त्यति मात्रै शिक्षकलाई दिएको र नगरमा कुनै त्यस्ताखालको बजेट नभएकाले तत्काल बाँकी तलब–भत्ता उपलब्ध गराउन नसकिए पनि केही स्रोत खोजेर छिट्टै उपलब्ध गराउने जनाएको छ । गतवर्षहरूमा झैं दशैंको घटनास्थापनामा समेत चार महिनाको तलब भत्ता र दशैं पेश्की नपाएपछि तत्काल निकासा गर्न माग गर्र्दै माग सुनुवाइ नभएमा चरणबद्धरूपमा सशक्त आन्दोलन गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक, बाल विकास शिक्षक तथा कर्मचारीले गतवर्षहरूमा निरन्तर पाउँदै आएको चौमासिक तलब–भत्ता र चाडपर्व खर्च दशैँ पर्व बिदा भइसक्दासमेत नगरले निकासा नगरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसभन्दा पहिला नगरमा गराएको ध्यानाकर्षणलाई पनि बेवास्ता गरेको आरोप लगाएको छ । नगरपालिकाले शिक्षकहरूको माग पूरा नगरे चरणबद्ध रूपमा सशक्त आन्दोलन गर्ने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन त्रियुगा नगरकार्यसमितिका अध्यक्ष जङ्गबहादुर खड्काले बताए । खाईपाई आएको सरकारले दिने सेवा सुविधा नगरले कटौती गरेकाले तत्काल उपलब्ध गराउनुपर्ने माग गर्दै आएको अध्यक्ष खड्काले बताए ।