धनकुटा/ प्रदेश प्रमुख प्रा. डा. गोविन्द तुम्वाहाङले धनकुटा बहुमुखी क्याम्पस राणा कालदेखि नै पूर्वमा अग्रणी भूमिका खेलेको बताएका छन् ।
धनकुटा बहुमुखी क्याम्पसको अयाोजनामा पूर्व विद्यार्थीहरूको भेलासहितको एल्मुनाइ एशोसिएशन गठनका लागि आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्वाहाङले क्याम्पसमा अध्ययन गरेका जनशक्ति आज विश्व बजारमा योगदान दिइरहेको बताए । २०१२ साल साउन १४ गते धनकुटा डिग्री कलेजको नामले स्थापित भएको क्याम्पसले नेपालको उच्च शिक्षाको विकासमा ठूलो टेवा पु¥याएको उनले बताए ।
२०१२ सालमा कलेज स्थापना हुँदाको समयका विद्यार्थीहरू धरान निवासी ८२ वर्षीया सरला कायस्थ, भरतनारायण श्रेष्ठ, प्रा.डा. गोपालबहादुर भट्टराई, बिनोद लुइटेल, व्यञ्जना वस्ती, डिल्लीप्रसाद गुरागाईंलाई दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको छ ।
सम्मानित मध्ये लुइटेल शिक्षा शास्त्र सङ्कायमा ०४३–०४५ को प्रविणता प्रमाण–पत्र तहमा सर्वोत्कृष्ट हुन सफल भएका थिए । वस्ती पनि शिक्षा शास्त्रमै ०४२–०४४ प्रविणता प्रमाण–पत्र तह र ०४७–०४९ स्नाकोत्तर तहमा सर्वोत्कृष्ट बनेकी थिइन् । कायस्थले क्याम्पसको जिउँदो इतिहास बनेर आफू लौरो टेकेर भए पनि कार्यक्रममा भाग लिन पाउँदा खुशी लागेको बताइन् ।
त्यसक्रममा उनले ‘कलेज रह्यो धनकुटा टाउनमा, स्थापना भयो ०१२ साल साउन’ गीत लयबद्ध गरिन् । २०४० सालदेखि पूर्व स्ववियु सभापतिहरू भगतचन्द्र थपलिया, चन्द्रबहादुर नेपाली, गोबिन्द आचार्य, धर्म पौडेल, निरन राई, ओम सुवेदी, सुजनभाइ जोशी, सोविश चेम्जोङ, टीका घिमिरेलगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै क्याम्पसलाई झापाको गौरादहमा १ सय बिघा जग्गा प्रदान गर्ने जग्गादाताहरू कर्णेल भक्तबहादुर बस्नेतका छोरा विश्व बस्नेत, हिक्मतबहादुर वस्नेतका छोरा रोहित बस्नेत, र इन्द्रबहादुर बस्नेतका छोरा नरेन्द्रजङ्ग बस्नेतलाई पनि सम्मानित गरिएको थियो ।
क्याम्पस प्रमुख होमबहादुर बस्नेतले धनकुटा क्याम्पसको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए । उनले हाल धनकुटा बहुमुखी क्याम्पस रहेको २ सय ५० रोपनी जग्गा प्रदान गर्ने जग्गादाताहरू धनकुटा–६ का रत्नमाया खड्गी, धनकुटा–७ का सत्नशेर आठपहरियाका नाती हर्कसेर आठपहरियालगायतलाई पनि सम्मानित गरिने बताए ।
एल्मुनाइ एशोसिएशनमा चेम्जोङ
क्याम्पसका पूर्व विद्यार्थीहरूको भेलाले संविधानसभाका पूर्व सांसद् टीकाराम चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय एल्मुनाइ एशोसिएशन गठन गरेको छ । भेलाले उपाध्यक्षमा विजय सन्तोषी राई, महासचिवमा राजन पौडेल, सचिवमा कुसुमकुमारी श्रेष्ठ, कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेललाई चयन गरेको हो ।
त्यसै गरी सदस्यहरूमा पर्शुराम नेपाल, लीलाबल्लभ घिमिरे, विदुर सुवेदी, खेमराज पौडेल, भगतचन्द्र थपलिया र डिल्लीप्रसाद गुरागाईं रहेका छन् । अध्यक्ष चेम्जोङका अनुसार थप चार सदस्य मनोनित गरिनेछ । सोही क्रममा पूर्व क्याम्पस प्रमुख नारयण जोशीको संयोजकत्वमा २१ सदस्सीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।