बलिउड अभिनेत्री अमिषा पटेललाई भारतको अदालतले धोका र चेक बाउन्सको मामिलामा पक्राउ पुर्जी जारी गरेको छ ।

पटेलविरूद्ध राँची निवासी फिल्म निर्माता अजयकुमार सिंहले उजुरी दिएका हुन् । अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणालले सिनेमा बनाउनका लागि आफूसँग २ करोड ५० लाख भारू लिएको र उनीहरूले सन् २०१८ मा सिनेमा रिलिज भएपछि पैसा फर्काउने वाचा गरे पनि फिल्म रिलिज नभएको सिंहले बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसपछि जब मैले अमिषासँग पैसा मागेँ, तब उनले मलाई ३ करोडको चेक दिएकी थिइन्, जुन पछि बाउन्स भयो ।’ अब पक्राउ पुर्जी लिएर राँची प्रहरी मुम्बई जानेछ ।

यसैगरी उजुरीकर्ता सिंहले अमिषा र उनका साथी कुणालले आफ्नो फोनलाई बेवास्ता गरेपछि आफूले बाध्य भएर प्रहरीमा उजुरी दिएको बताएका छन् । गत साल अमिषाले ‘देशी म्याजिक’ सिनेमा रिलिजका लागि सिंहसँग पैसा लिएकी थिइन् । पटेल हाल जारी बिग बोसको १३ औं संस्करणमा प्रतिस्पर्धी रहेकी छन् ।