बेलबारी । फुटबल संग सम्बन्धित तीनवटा गोल्डकप सकिए लगत्तै मोरङको बेलबारीमा अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
बेलबारी सितोरियो कराते संघले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । नोवेल अन्तरराष्ट्रिय च्याम्पियनशीप कराँते प्रतियोगितामा भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिब छ सय खेलाडीहरूको सहभागिता रहने बेलबारीका प्रमुख प्रशिक्षक कुन्ति गुरुङले बताईन् । साथै नेपालको ७ बटै प्रदेशको खेलाडीहरुको पनि सहभागिता रहने भएको छ ।

खेल बेलबारी–३ स्थित नेपाल तमु बुद्धिष्ट गुम्वामा हुने प्रतियोगितामा विश्व कराते संघ डब्लु केएफ को नियम अनुसार हुने छ । खेलमा विभिन्न तौल समूहका खेलाडीहरू सहभागि रहने छन् ।
प्रतियोगिताका टिम च्यापियनलाई एक लाख, टिम दोस्रो सेकेन्ड हुनेलाई ७५ हजार र टिम तेस्रो हुनेलाई ५० हजार प्रदान गरिने जनाएको छ ।

प्रतियोगिताबाट गोल्ड ८५, सिल्भर ८५ र ब्राउड एक सय ७० गरी जम्मा तीन सय ४० ओटा मेडल खेलाडीहरूले लाने छन् । खेलको कुल बजेट २१ लाख २३ हजार छ सय रहने छ । बेलबारीले २९ वर्ष अघिदेखि सितोरियो कराते खेलाउन सुरु गरेको थियो ।

प्रतियोगिताका लागि नोवेल मेडिकल कलेज विराटनगरले मुख्य प्रायोजन गर्ने भएको छ । त्यसैगरी बेलबारी नगरपालिका संग पनि सहयोगका लागि पहल भईरहेको बेलबारी डोजोका अध्यक्ष सञ्जय सुवेदीले बताए ।