काठमाडाैं / तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दवावमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो ।
नेपालका लागि सरु लिम्बूले ८८औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको १५औं मिनेटमा सावित्रा भण्डारीले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकेनन । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो । सो अवसरमा नेपाली खेलाडीहरूले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । टोलीका क्याप्टेन निरु थापाले खेलको ३८औं मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथनाले सहजै विफल पार्नुभएको थियो । खेल अवधिभर नेपालले दवाव राखेको भए पनि नतिजा निकाल्न नसकेपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलको ३२औं मिनेटमा दीपा राई मैदानबाहिर निकालेर सरु लिम्बूलाई मैदानभित्र उतारेका थिए ।
पाएको धेरै अवसरलाई सदुपयोग गर्न सकेनौँः हरि खड्का
नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक खड्काले आज भएको श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । जितका लागि अन्तिम समय कुर्नुपरेकामा भने उनले विपक्षीको ‘डिफेन्सिभ’ राम्रो भएको बताए। “हामीले ‘अट्याकिङ’ खेलेका थियौँ । तर श्रीलङ्काको डिफेन्सिभ खेलले जितका लागि अन्तिम समय कुर्नुपरेको हो”, प्रशिक्षक खड्काले भने , “तर आजको समग्र खेललाई हेर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।” उनले गोल गर्ने सरु लिम्बूले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।