सुनसरी । निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन सुनसरीको १५ औं वार्षिक साधारणसभा शुक्रबार इटहरीमा सम्पन्न भएको छ ।
इटहरीको प्याब्सन भवनमा साधारण सभाको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले विद्यालय सञ्चालन नै गर्न नसक्नेखालको शिक्षा ऐन आफूहरूलाई स्वीकार नहुने बताएका छन् ।

निजी विद्यालयलाई घेराबन्दीमा पार्नेखालको शिक्षा ऐन सरकारले ल्याउँदा जसरी आन्दोलित भएको स्मरण गराउँदै भएका सम्झौता कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने बताए । परिमार्जित शिक्षा ऐनका विषयमा पूर्ण जानकारी आइनसकेकोले त्यसले आफूहरूका माग र मुद्दा समेटिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । देशमा निजी विद्यालय सञ्चालकहरूले गरेको लगानी र सेवालाई सरकारले सम्मान गर्नुपर्नेमा उनको जोड थियो ।

प्याब्सन सुनसरी अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, केन्द्रीय सचिव राजेश दास, प्रदेश १ अध्यक्ष युवराज वशिष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य हेमन्त कार्की, जीवप्रसाद गरागाईं, कविन्द्र मण्डल, एक नम्बर प्रदेश विशिष्ट अतिथि टीका ढकाल, प्रदेश सचिव सुमित थापा, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, कोषाध्यक्ष राजेश आचार्य, शिक्षा विकास तथा समन्वय इकाई सुनसरी प्रमुख रमेशबहादुर दाहाल, नरबहादुर थापा, धनबहादुर लिम्बू, दीपेन्द्र विष्ट, नवीन राई, देवनारायण ढकाललगायतको आतिथ्यता रहेको थियो । प्याब्सन सुनसरी उपाध्यक्ष थानेश्वर ढकालले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा सुनसरीका स्थानीय तह अन्तर्गतका प्याब्सनलाई कदर–पत्र प्रदान गरिएको थियो ।