धरान / सिद्धि नेवाः परिषद् धरानले १४ औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न गरेको छ ।
यसक्रममा परिषद्का लागि जग्गा उपलब्ध गराउने दाता सिद्धिमान/गङ्गालक्ष्मी पलिखेको १ सय ५६ औं जन्मजयन्तीसमेत मनाइएको छ । त्यसक्रममा परिषद्का संस्थापक अध्यक्षसहित पत्रकार र विद्यार्थीहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलाई सम्मान– पत्रले सम्मानित गरिएको छ ।

त्यस्तै ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई चन्द्रप्रसाद श्रेष्ठले प्रदान गर्ने पुरस्कारबाट सम्मानित गरिएको छ । साथै विभिन्न अक्षयकोष दाताहरूले स्थापना गरेको कोषबाट १९ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । जसमा अडिमर्दन–सुभद्रा मास्के स्मृति पुरस्कार, भोजराज स्मृति पुरस्कार, वसन्त–रम्भा कर्माचार्य स्मृति पुरस्कार, सूर्यलक्ष्मी स्मृति पुरस्कार, मोहनकृष्ण–हर्षमाया उदास स्मृति पुरस्कार, डिल्लीमान–कमला अमात्य स्मृति पुरस्कार, विष्णुमाया स्मृति पुरस्का, गणेश–विष्णु–नित्यकुमारी स्मृति पुरस्कारबाट ८ जना प्लस टुमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै एसईईतर्फ गोपाल कायस्थ स्मृति पुरस्कार, गणेश–विष्णु–नित्य कुमारी स्मृति पुरस्कार, अनन्तबहादुर–इन्द्रकुमारी स्मृति पुरस्कार, गोविन्द–सन्तमाया बनेपाली स्मृति पुरस्कार, लक्ष्मण–उषा पलिखे स्मृति पुरस्कार, हरिभगत स्मृति पुरस्कार, सम्राट मास्के स्मृति पुरस्कार, भरत–इन्द्रमाया श्रेष्ठ स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यस्तै इञ्जिनियरिङतर्फ २ जनालाई रामविनोद श्रेष्ठ स्मृति पुरस्कार, एक जनालाई कर्णकुमारी तथा भारतीय श्रेष्ठ स्मृति पुरस्कार प्रदान गरिएको हो ।

सम्मानित तथा पुरस्कृत विद्यार्थीहरूलाई धरान उपमहानगरका मेयर तिलक राई, सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, परिषद्की निवर्तमान अध्यक्ष सरला कायस्थलगायतले पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका थिए । त्यसक्रममा महासचिव महेश प्रधानले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भरतमोहन पलिखेले ५३ लाख १४ हजार ९ सय ९१ रुपैयाँ बराबरको आय–व्ययसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा जग्गादाताको तर्फबाट महेशमोहन पलिखे, ७ नम्बर वडाध्यक्ष जीवनराज सुवेदी, निवर्तमान अध्यक्ष सरला कायस्थलगायतले शुभकामना दिएका थिए ।