नेपालमा इन्टरनेटको पहुँच बढेसँगै अहिले हलमा महँगो टिकट काटेर नेपाली फिल्म हेर्ने दर्शकको सङ्ख्यामा कमी आउँदै गएको छ । हलमा रिलिज भएको ३ महिनादेखि ६ महिनाभित्र युट्युबमै फिल्म रिलिज हुने हुँँदा दर्शक हलमा गएर २ घण्टा बिताउन झर्को मान्छन् ।

हलमा भन्दा युट्युबमा फिल्मको प्रतीक्षा गर्ने दर्शकको सङ्ख्या बढिरहेको छ । करिब डेढ दशक अगाडिसम्म हलमा प्रदर्शन हुने हरेक फिल्म सुपरहिट सावित हुन्थे । किनकि त्यसबेला नेपालमा इन्टरनेटको पहुँच खासै थिएन । तर, अहिले मोबाइलमा युट्युब खोलेर घण्टौं नबिताउने नेपाली भेट्न मुस्किल छ ।

हलमा महँगो टिकट काटेर हेर्नुपर्ने फिल्म केही महिनामै युट्युबमा सित्तैमा हेर्न पाइने भएपछि दर्शक हलमा किन जान्छन् ? यो अहिलेको गम्भीर प्रश्न हो । हलमा खासै कमाइ गर्न नसकेका फिल्मले युट्युबमा रिलिज भएको केही घण्टामै लाखौं भ्यूज कमाउनुले युट्युबमा नेपाली फिल्मको प्रतीक्षामा गर्ने दर्शकको सङ्ख्या कति छ भन्ने प्रष्ट्याउँछ । उदाहरणको रूपमा गत एक हप्ताअगाडि युट्युब रिलिज भएको फिल्म ‘गोपी’ लाई लिन सकिन्छ ।

फिल्मले पोष्टरको पनि पैसा उठाएन । तर, अहिले यो फिल्म युट्युबमा हिट छ । युट्युब रिलिजको एक हप्तामा फिल्म हेर्नेको सङ्ख्या १८ लाखभन्दा बढी पुगिसकेको छ । २५ हजार लाइक्स मिलेको फिल्मलाई १८ सयभन्दा बढी कमेण्ट प्राप्त छ । कमेण्टमा अधिकांशले फिल्मको कथावस्तुको तारिफ गरेका छन् । युट्युब ट्रेण्डिङको पहिलो स्थानबाट झरेर अहिले चौथो नम्बरमा रहेको फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।

हलमा घँुडा टेकेको ‘गोपी’ युट्युबमा हिट हुँदा न निर्माता हर्षित हुन सकेका छन्, न त दुःखी नै । खुशी हौं, करोडौं लगानी बालुवामा पानी झैँ भएको छ । दुःखी हौं, युट्युबमा फिल्मले लोभलाग्दोे भ्युज र वाहवाही बटुलेको छ । ‘गोपी’ निर्माताको मात्र होइन, अहिले धेरै निर्माताको हालत यस्तै छ । हलबाट पोष्टरको पनि पैसा नउठाएको फिल्मले युट्युबमा भने लाखौं भ्युज बटुलिरहेका छन् ।