राजविराज /  सप्तरीको तिलाठी–कोईलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपामा संचालित वर्थिङ्ग सेन्टर वन्द भएको लामो समय वितिसक्दा पनि पुनः संचालनमा आउन सकेको छैन ।
केन्द्रमा २०७० सालमा प्रसुति सेवा सुरु गरीएको थियो । प्रसुतिका क्रममा एक महिलाले मृत वच्चा जन्माएपछि स्वास्थ्यकर्मीलाई दोस लगाएर स्थानीयवासीले सुरु गरेको आन्दोलन र अवरोधका कारण वर्थिङ्ग सेन्टर वन्द भएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि वर्थिङ्ग सेन्टर संचालन गर्न सक्ने जनशक्ति कार्यरत छन् । तर, एक पटक वन्द भएको वर्थिङ्ग सेन्टर पुनः सन्चालन हुन नसक्दा स्थानीयवासीले भने दुःख पाएका छन् । केन्द्रमा १ स्टाफ नर्स, ३ अनमी अहिले पनि कार्यरत छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख वालकुमार साह भन्छन्–‘प्रसुति गृह संचालनका लागि हामीले गाउँपालिकालाई आग्रह गरेका छौं। गाउँपालिकाले चाह्यो भने सेवा संचालन गर्न समस्या छैन। गाउँपालिकाले पहल गरे वर्थिङ्ग सेन्टर संचालनका लागि आफुहरु सक्षम रहेको उनको प्रतिक्रिया छ। गाउँपालिका अध्यक्ष शतिस सिंहले पनि केहि दिनभित्रै वर्थिङ्ग सेन्टर संचालनको लागि तयारी भईरहेको वताए ।
अर्कोतर्फ, सप्तरीका कुल ११८ स्वास्थ्य संस्था मध्ये २९ वडामा वर्थिङ्ग सेन्टर संचालनमा छन् । ति मध्ये १८ वटाको अवस्था जर्जर छ । समायोजनका क्रममा भएको दक्ष जनशक्ति घर पायक रोजेर गएपछि वर्थिङ्ग सेन्टरको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
अठारवाहेक हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर, सितापुर, कल्याणपुर, कडरवोना, वोदेवरसाईन, पश्चिम पिप्रा, पथ्थरगढा र व्रम्हपुरमा भने वर्थिङ्ग सेन्टरवाट सर्वसाधारणले राम्रो सेवा लिईरहेका छन् । ‘२९ मध्ये ११ वटा वर्थिङ्ग सेन्टरको अवस्था सन्तोषजनक छ’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजनारायण ठाकुर भन्छन्–‘ति स्वास्थ्य संस्थामा साधन स्रोतको अभाव छैन ।’