ताप्लेजुङ / हत्या गरेर तमोर नदीमा फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीकी मन्दिरा अधिकारीको शव ३२ दिन पछि भेटिएको छ । तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहिबार माछा मार्ने क्रममा माझीले शव भेट्टाएका हुन् । पाँचथर सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव भेटेपछि आठराई तेह्रथुमस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए ।
अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले दाहिने हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि–सर्टका आधारमा शवको पहिचान भएको मन्दिराका काका चन्द्र अधिकारीले बताए । अप्ठ्यारो स्थानमा भएकाले शवलाई तमोरभ्याली ट्राभल्सको ढुङ्गामार्फत् सिम्राहाको पुलमा निकालिएको चन्द्रले बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु खड्काको नेतृत्वमा खटिएको टोलीले शव फेलापरेको स्थानबाट निकालेको थियो ।
‘दुई दिन अघि माझीले भेट्टाएको शव मन्दिराकै हो, भन्ने पुष्टि भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले भने, ‘उक्त स्थानबाट नजिक पर्ने भएकाले पाँचथरमा पोष्टमार्टम गर्न लागिएको हो ।’ हत्याको आशंकामा मृतककै दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते पक्राउ गरिसकेको छ । उनले मन्दिराको हत्या आफुले नै गरेको भनेर स्वीकारेका छन् । मंसिर १७ गते राती ताप्लेजुङको नाङखोल्याङ र फूलबारीको सिमाना भएर बग्ने तमोर नदीको किनारमा रहेको खेतमा हत्या गरेर शव मित्लाको झोलुङ्गे पुलबाट नदीमा फालेको बयान रमेशले प्रहरीसँग दिएका थिए । । यद्यपि मन्दिराका परिवारले भने मन्दिराको अपहरण र बलात्कार पछि हत्या भएको दावी गरेका छन् । ‘घरमै आएर अपहरण गरी तमोर किनारमा लगेर बलात्कार पछि हत्या भएको हो,’ मन्दिराका बुबा नन्दकुमार अधिकारीले भने । शव नभेटिएका कारण उनलाई हालसम्म बेपत्ताको सुचिमा राखिएको थियो । हत्या आरोपित रमेशलाई व्यक्ति बेपत्ताको कसुरमा सुरुवाती अनुसन्धान भए पनि अब ज्यान उद्योगमा मुद्या दर्ता गरिने प्रहरी प्रमुख फुयाँलले बताए ।