बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ झापाको संस्थापक अध्यक्षमा सुमन शर्मा जमरकट्टेल चयन भएका छन् ।
संघको उपाध्यक्षमा मिलन ओली, सचिवमा मदन बुढाथोकी र कोषाध्यक्षमा राजकुमार कार्कीलाई जिम्मेवारी पाएका छन् । समितिका सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविनकुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् ।
नवगठित जिल्ला शाखाका पदाधिकारी एवम् सदस्यहरुलाई सोमबार एक समारोहकाबीच पद तथा गोपनियताको सपथ गराइएको छ ।
ईक्यानले पहिलो पटक जिल्ला समिति चयन गरेको हो । यसअघि पुर्वाञ्चलमा संघ भएपनि जिल्लास्तरमा पहिलो पटक संघ गठन गरिएको बताइएको छ । नेपालबाट तेस्रो देशमा अध्ययनका लागि जाने बिद्यार्थीको संख्यामा बृद्धिभएसँगै कन्सल्टेन्सी स्थापना हुने क्रमपनि बढेको बताइएको छ ।
नेपालमा गुणस्तरीय र रोजगारमुखी शिक्षा नभएको कारण बिद्यार्थीको आकर्षण भारतसहित तेस्रो मुलुक भएको इक्यानका केन्द्रिय अध्यक्ष बिष्णुहरी पाण्डे बताउँछन् । पाण्डेले सरकारको गलत शिक्षा नीतिका कारण बिद्यार्थीहरु अध्ययनका लागि बिदेश पलायन भएको दावी गरेका छन् । अध्यक्ष पाण्डेका अनुसार अहिले पनि सक्षम युवाहरु नेपाल आउन चाहन्छन् । तर, सरकारले उनीहरुलाई क्षमता अनुसारको काम दिन सक्ने अवस्था छैन ।
नेपालबाट बर्षेनी ५० हजारको हाराहारीमा बिद्यार्थी अन्य मुलुकमा अध्ययन गर्न जाने गरेको ईक्यानको तथ्यांक छ । जसबापत अर्बाैं रकम बाहिरिरहेको छ । यसलाई रोक्न बिश्वस्तरीय शिक्षा लागू गर्नुपर्ने उनीहरुको भनाई छ । इक्यानका झापा कोषाध्यक्ष राजकुमार कार्कीका अनुसार पढाईसँगै रोजगारको अवसर बिदेशमा सृजना हुनुले पनि बिद्यार्थीको आकर्षण बढेको हो । जसका लागि मध्यम बर्गीय परिवारको समेत रोजाई आफ्ना छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि बिदेश पठाउने नै रहेको छ ।
त्यस्तै ईक्यानका सदस्य अनिल सापकोटाले केही बिद्यार्थी अध्ययनकै लागि जाने गरेको र केही बिदेशमै बसोबासको योजनासहित जाने गरेको बताए । उनले पछिल्लो समय अष्ट्रेलिया र जापान बिद्यार्थीको प्रमुख गन्तब्य बनेको जानकारी दिए । ईक्यानले पछिल्लो समय देशभर संगठन बिस्तार गरिरहेको जनाएको छ । सोही अनुसार झापामा छैटौं जिल्ला शाखा सोमबार स्थापना गरेको छ ।