धनकुटा/ धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा सरकारी अनुदानमा मिनि टिलर मर्मत सम्बन्धी वर्कशप तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना कार्यान्वयन एकाइ तरकारी जोन सिधुवा धनकुटाको ५० प्रतिशत अनुदान सहयोगमा पहिलो पटक छथर जोरपाटी मिनिटिलर सर्भिस तथा वर्कसप सेन्टर सोमबारदेखि सञ्चालनमा आएको हो । वर्कशपको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले उद्घाटन गरे । नगरप्रमुख नेपालले वर्कशप सञ्चालनमा आएसँगै तरकारी जोन पकेट क्षेत्र अन्तर्गत मुर्तिढुङ्गा, परेवादिन, सिधुवा, नाम्जाङ, ताङखुवा, चुलाचुली लगायतका किसानहरूले प्रयोग गर्दै आएको औजार तथा उपकरण बिग्रिए अब यहीँ मर्मत हुने भएपछि किसान खुशी बनेको बताए ।

उनले कृषक एवं उद्योगी व्यवसायीहरूले इमानदारिताका साथ काम गरे सरकाले सहयोग गर्ने बताए । उनले किसानलाई सहयोग गर्ने भनेर नै धनकुटाको सिधुवामा किसानको हितमा राज्यले लगानी गरेर तरकारीको पकेट क्षेत्रमार्फत अर्गानिक तरकारी उत्पादन गरेर बढी भन्दा बढी आर्थिक उपार्जन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएको स्पष्ट पारे ।

कृषि औजार तथा उपकरण बिग्रिए पछि मर्मत गर्ने वर्कशप नहुँदा यस क्षेत्रका किसानहरूले मर्मतका लागि शहरहरूमा पुर्याउनुपर्ने बाध्यता थियो ।

तरकारी जोनले वर्कशप स्थापना गर्न ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देविन्द्र साहले बताए । कार्यालयकोे १ लाख ९० हजार र उद्योगी व्यवसायी कृष्ण सिजाली मगरको दुई लाख गरी जम्मा ३ लाख ९० हजारको लगानीमा छथरजोरपाटी मिनिटिलर सर्भिस सेन्टर तथा वर्कसप स्थापना गरिएको साहले जानकारी दिए ।

अनुदानमा करिब ४ सयको सङ्ख्यामा मिनि टिलर उपलब्ध गराए पनि मिनिटिलर बिग्रिए पछि यस क्षेत्रमा मर्मत गर्ने वर्कशप नहुदाँ किसानहरू समस्यामा परेका थिए । कृषि औजार उपकरण बिग्रिएमा धरान, इटहरी, विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको वर्कशप वा सर्भिस सेन्टर सञ्चालक कृष्ण सिजाली मगरले बताए ।

kaamm