सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले विराज भट्टको फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यु गर्दैछिन् ।

निकिता यसअघि ‘रानीमहल’ मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच झगडा भएपछि फिल्मको आधा छायाङ्कन पनि नसकिँदै रोकियो । अब यो फिल्म नबन्ने बताइएको छ । केही समय अभिनय सिकेपछि नयाँ फिल्म गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ का लागि अफर गरेका थिए ।

निकिता शुरुमा उनी यो फिल्म नगर्ने सोचमा थिइन् । तर, स्क्रिप्ट सुनेपछि उनले नकार्न सकिनन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनको जोडी अभिनेता विराजसँग बाँधिएको छ । फिल्मको ‘चरीले काफल टिप्यो’ बोलको गीतमा उनको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । अब फिल्ममा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता धेरैमा छ ।

‘साङ्लो’ डेब्यु फिल्म भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछ । त्यसैले पनि फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनले प्रमोशनमा अभिनेता विराजलाई राम्रो साथ दिइरहेकी छन् । अहिले देशभित्र भइरहेका विभिन्न महोत्सवहरूमा फिल्मको प्रचार गर्न उनीहरू सँगै पुग्ने गरेका छन् ।

‘चरीले काफल’ गीत हिट भएपछि केही दिनअघि फिल्मको नयाँ गीतको छायाङ्कन गरिएको छ । गीतमा विराज र निकिताले नृत्य गरेका छन् । काठमाडौंमा खिचिएको गीतका केही तस्बिरहरू निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ ।

डान्सिङ नम्बरको यो गीतबाट निर्माण पक्षले ठूलो आशा बोकेको छ । फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको सङ्गीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायाङ्कन छ ।

मिस नेपालका विजेता सुन्दरीहरूको फिल्मीयात्रा त्यति सुखद् छैन । मिस नेपालका विजेताहरू मलिना जोशीदेखि सृष्टि श्रेष्ठसम्मले फिल्ममा अभिनय गरे पनि उनीहरूको अभिनयले गति लिन सकेको छैन । अब निकिताको फिल्मयात्रा चाहिँ कस्तो होला हेर्न बाँकी नै छ ।