धरान  / सशस्त्र प्रहरी वल विओपी बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापा र सशस्त्र प्रहरी जवान शशित नारायण विश्वास विरुद्ध अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सशस्त्र प्रहरी वल विओपी बखरी मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज शशित नारायण विश्वासलाई सेवाग्राहीबाट रु। ५,५०० घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी वल विओपी बखरी मोरङमा कार्यरत शशित नारायण विश्वासले सशस्त्र प्रहरी वल विओपी बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट नेपालमा ल्याइने प्याज ओसारपोसारको काम सहज गरिदिने भनी रकमको वार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक घुस लिएको भेटिए पछि नियन्त्रणमा लिएर विशेष अदालतमा आज मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा बिगो ५ हजार ५ सय कायम गरी निजहरु अमृत थापा र शशित नारायण विश्वासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय माग दावी गरिएको छ ।