विराटनगर /  अनुनायी महिलामाथि जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बिहीबार उच्च अदालत विराटनगरले सुनसरी अदालतको आदेश बदर  गदैं पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरको १ नम्बर इजालशमा गिरीविरुद्धको आज भएको सुनुवाईमा थुनामा राख्ने आदेश जारी भएको हो । यता आदेश जारी हुनु अघि नै कृष्णबहादुर गिरी(कृष्ण दास) भने भारत फरार भएका छन् ।

मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पुगेका थिए । गिरीका तर्फबाट कानुन व्यबसायी मोहन कोइराला र रुपेश कोइरालले बहस गरेका थिए  । ।
आदेश जारी हुनु अद्धि नै उनी भारत भागेका हुन । सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका गिरीमाथि प्रहरीले सामान्य निगरानी राखेको थियो । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हवल्दार मुकेश साहलाई खटाएको थियो ।

हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन् । ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।

सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् । विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर उनी थप उपचारका लागि दिल्ली लागेको स्रोतले बताएको छ ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।