पथरी / सुकुम्बासी समस्या सामधानका नाममा विभिन्न सङ्घर्ष समिति गठन गरी अवैध कर नअसुल्न पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले आग्रह गरेका छन् ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सङ्घर्ष समितिले सुकुम्बासीलाई परिचय–पत्र वितरण गर्दै रकम असुलेको उजुरीका आधारमा नगर प्रमुख राईले तत्काल बन्द गर्न आग्रह गरेका हुन् । उनले सुकुम्बासीलाई परिचय–पत्र वितरण गर्ने अधिकार राज्य बाहेक कुनै पनि सङ्घसंस्थालाई नभएको भन्दै त्यो कार्य बन्द गर्न आग्रह गरेका हुन् । त्यस्ता कार्य बन्द नभए कानूनी कारबाही अगाडि बढाइने उनले चेतावनी दिए ।
समिति अध्यक्ष मौसम लिम्बू र सचिव कुबेरमान घतानीको हस्ताक्षरित परिचय–पत्र सुकुम्बासी क्षेत्रमा वितरण गरिएको छ । समितिले प्रतिकठ्ठा १० रुपैयाँका दरले रकम उठाए पछि नगरपालिकाले तत्काल रोक्न निर्देशन दिएको हो । यसरी वितरण हुन थालेपछि सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितिले नगरमा उजुरी गरेको थियो । उजुरीपछि नगरपालिकाले यस विषयमा चासो देखाएको हो । पहल नगर समितिका सचिव देवेन्द्र वनेमले बाँडिएको परिचय–पत्र वैधानिक नभएकाले भ्रममा नर्पन सबै सुकुम्बासीहरूमा आग्रह गरेको छ ।

९ महिनाअघि नगरपालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समिति गठन गरेको थियो । समितिको अध्यक्षमा सुकुम्बासी नेता जहरमान लिम्बू रहेका छन् । नगर प्रमुख राईको नेतृत्व र समितिको समन्वयमा पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरंैचाका जनप्रतिनिधिहरू, सुकुम्बासीका प्रतिनिधिको टोली गत पुस २४ देखि २९ गतेसम्म सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा डेलिगेसन गएको थियो । जसबाट सुकुम्बासी तथा अव्यबस्थित बसोवास समस्या समाधान गर्न÷गराउँन सरकारी पक्षबाट पहल गर्ने/गराउने विषयमा सम्बन्धित निकायले तत्कालै आवश्यकीय प्रक्रिया अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितिले विज्ञप्ति प्रकाशित गर्दै समितिको काम कारबाहीलाई असर पु¥याउन गरिएको कदमप्रति समितिले ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा अध्यक्ष लिम्बू सुकुम्बासी तथा अव्यवस्थित बसोवास साझा सङ्घर्ष समितिमा आफू कुनै पनि पदमा नरहेको समेत स्पष्ट पारेका छन् । सङ्घर्ष समितिले लिम्बूलाई सल्लाहकार समितिमा रहेको बताएको छ ।