भण्टावारी । सुनसरीको सीमावर्ती क्षेत्रमा चौपाया चोरको बिगबिगी बढेको छ । भारतसँग सीमा जोडिएको जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय चोरको बिगबिगी बढेको हो । जाडोको समयमा प्रहरीले गस्ती गर्न छाडेपछि भारतको विभिन्न स्थानबाट आउने चोरहरुको समुहले रातिको समयमा गाई,गोरु र भैंसी चोरेर लाने गरिएको स्थानीयले गुनासो गरेका छन् । भारतबाट शुक्रबार राति आएको चोरहरुको समुहले जिल्लाको भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर १ बाट तीनजनाको चौपाया चोरेर लाने क्रममा चोर पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर १ बाट स्थानीय मुस्लिम अन्सारीको दुईवटा गोरु,शिवनारायण मेहताको एउटा भैंसी र पाडी तथा भजनलाल मेहताको एउटा भैंसी चोरेर भारततर्फ लाने क्रममा शनिबार चौपाया चोर सजना पाठक पक्राउ परेका हुन् । 
भोक्राहा क्षेत्रबाट चौपाया चोरेर भारततर्फ लाने क्रममा चौपायासहित चोर पक्राउ परेको स्थानीय शान्ति समिति कोशी गाउँपालीका संयोजक बिद्यान्न यादवले जानकारी दिए । कोशी गाउँपालीका वार्ड नम्बर ५ श्रीपुरको बाँसघारीमा चौपाया बाधेर राखेको अवस्थामा चोरिएको चौपायासहित एकजना चोर पक्राउ परेको उनले बताए । एकान्तमा रहेको बाँसघारीमा चौपाया बाधेर चोरहरुको समुह मदिरा सेवन गरिरहेका अवस्थामा कोशी कटानबाट खटिएको प्रहरी टोलिले स्थानीय शान्ति समितिको सहयोगमा चोरिएका चौपाया फिर्ता गरिनुका साथै चोरलाई समेत पक्राउ गरिएको यादवले बताए । स्थानीय जनप्रतिनिधिको रोहवरमा शनिबार दिउँसो चौपाया धनीलाई चोरेर लगेको चौपाया बुझाइएको उनले बताए । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले चोरिएको चौपाया फिर्ता गरेर एकजना चोरलाई नियन्त्रणमा लिएपनि अरु चोर भाग्न सफल भएका छन् । 
 
जिल्लाको सीमावर्ती क्षेत्रमा दिनहुँजसो आउने चोरहरुले रातको समय गाई,गोरु र भैंसी चोरेर लाने गरेका छन् । जाडोको समयमा सर्वसाधारण राति छिटै सुत्ने गरेको फाइदा उठाउदै चौपाया चोरहरुले घरबाटै स्थानीयहरुको चौपाया चोरेर लाने गरेका छन् । भारतको घुर्ना, अचरा, बबुवान,जटवारा लगायतका स्थानबाट सीमावर्ती क्षेत्रमा चौपाया चोर्न चोरहरुको समुह आउने गरेको स्थानीय बताउँछन् । जिल्लाको विभिन्न स्थानबाट भारतीय चोरहरुले चोरी गरेर लगिएको चौपाया बिचौलिया मार्फत पैसा लिएर छाड्ने गरेको यादवको भनाइ छ । चोरहरुले चोरी गरेर लगिएको चौपाया फिर्ता लान बिचौलिया मार्फत पैसा माग्ने गरेका छन् । फिरौती रकम तिर्नेको चौपाया घरसम्म ल्याइदिने गरिएको र नदिनेको चोरहरुले नै बेच्ने गरेको मुस्लिम अन्सारी बताउँछन् । जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रमा चोरी र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेको छ । 
 
सीमा क्षेत्रमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित गस्ती गर्न छाडेपछि सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेको बताइएको छ । जिल्लाको कोशी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालीका,हरिनगर गाउँपालीका,देवानगंज गाउँपालीका क्षेत्रमा चोरी तस्करीका घटना बढेको भन्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका छन् । त्यसक्षेत्रमा नियमित भारतीय चौपाया चोरको समुह चोरी गर्न गाउँ पस्ने गरेकोले चोरहरुको बिगबिगी रोक्न प्रहरीलाई थप निगरानी बढाउन उनीहरूले आग्रह गरेका छन् । भारतीय चोरहरुको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातमा बस्तु गोठमा ओछ्यान लगाएर सुत्ने गरेको श्रीपुरका हजरत मियाले जानकारी दिए । बस्तुभाउ समेत चोरी हुन थालेपछि स्थानीयबासी समस्या परेको उनको भनाइ छ । चोरीको घटना बढेको बारे प्रहरीलाई पटकपटक जानकारी गराउदा पनि गस्ती नबढाएको स्थानीयको गुनासो छ । यता प्रहरीभने जनशक्ति अभाव भएपनि नियमितरूपमा गस्ती गर्दै आएको बताउने गरेको छ ।