धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनका लागि एवम् सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार डेस्कसहितको कोरोना भाइरस ¥यापिड रेक्पोन्स टिम गठन गरेको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ ।

हालसम्म पूर्वी नेपालमा फेला नपरेपनि काठमाडौंमा नोवल कोरोना भाइरस सङ्क्रमित केही व्यक्ति पाइएपछि पूर्वमा पनि देखापर्न सक्ने भन्दै प्रतिष्ठानले सतर्कता अपनाउँदै ¥यापिड रेक्पोन्स टिम गठन गरेको हो । प्रतिष्ठानमा जनकपुरदेखि पूर्वका सबै जिल्लाका बिरामी र भारतीय सीमावर्ती विहारका समेत बिरामी उपचारका लागि आउने भएकाले कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमित बिरामी पनि आउन सक्ने भएकाले सतर्कता अपनाउँदै उपचार गर्न टिम गठन गरेको अस्पताल निर्देशक प्रा.डा. साहले बताए ।

टिममा सहायक अस्पताल निर्देशक डा. विकास साह, आकस्मिक विभागका प्रा. डा. ज्ञानेन्द्र मल्ल, एनेस्थेसिया विभागका प्रा.डा. कृष्ण पोखरेल, माइक्रोबायोलोजी विभागका एडिस्नल प्रोफेशर डा.नारायण भट्टराई, कम्युनिटी मेडिसिन विभागका एसोसिएट प्रोफेशर डा.विजयकुमार खनाल, नाक –कान–घाँटीका एसोसिएट प्रोफेसर डा.दीपक पौडेल, बालरोग विभागका असिष्टेण्ट प्रोफेसर डा.मुकेश भट्ट, स्त्री तथा प्रसूति विभागका असिष्टेण्ट प्रोफेसर डा.मनोज साह, इण्टर्नल मेडिसिन विभागका असिष्टेण्ट प्रोफेसर डा.रोशन क्षेत्री, पल्मोनोलोजी विभागका एडिस्नल प्रोफेसर डा.दिव्यराज मिश्र र अस्पताल प्रशासन महाशाखाका सुपरभाइजर कमला लिम्बू रहेका छन् । प्रतिष्ठानमा नोवल कोरोना भइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने प्रविधि नभएकाले स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी विभागमा किट र आवश्यक उपकरण र उपचारमा संलग्न चिकित्सकले लगाउने विशेष प्रकारको ड्रेस पनि माग गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले भने, ‘कोरोना भाइरस सङ्क्रमित बिरामी राजधानीमा देखियो । पूर्वी नेपालमा पनि नदेखिएला भन्न सकिन्न । यद्यपि अहिलेसम्म पूर्वमा यो भाइरसबाट सङ्क्रमित बिरामी फेला परेका छैनन् । तर पूर्वसतर्कता अपनाउन डेस्कसहित ¥यापिड रेस्पोन्स टिम बनाएको हो ।’

उनले शङ्कास्पद सङ्क्रमित फेला परे उसको रगतको नमूनालाई थप परीक्षणका लागि काठमाडौं पठाउने बताए । उनका अनुसार सङ्क्रमित फेला परेमा उनीहरूको उपचारका लागि कम्तीमा ६ वटा शøयाको आइसोलेसन कक्ष ट्रपिकल वार्डमा बनाउने तयारी भइरहेको छ ।

चीनको बुहान प्रान्तबाट एकपछि अर्को गर्दैै विभिन्न मुलुकमा सरेको कोरोना भइरसले सबैलाई आतङ्कित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत विश्वभरका सबै अस्पताललाई सजग रहन आग्रह गरेपछि प्रतिष्ठानले डेस्कसहितको ¥यापिड रेस्पोन्स टिम गठन गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐयरले बताए ।

यसैबीच प्रतिष्ठानले सबै विभागमा सर्कुलर गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामी उपचारका लागि बीपी प्रतिष्ठानमा पनि आउन सक्ने भएकाले सबै चिकित्सक, नर्सहरू र प्राविधिकलाई सजगताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि कोरोना भाइरस सङ्क्रमित बिरामी फेला परे रगतको नमूना सङ्कलन गरेर पठाउन पत्राचार गरेको प्रतिष्ठानले जनाएको छ ।