(जाँते, मोरङ)/ मोरङको मिक्लाजुङ गाउँपालिका–५ खोलिटारका टङ्कप्रसाद श्रेष्ठले साढे २ बिघा क्षेत्रफलमा लोकल केराखेती लगाएका छन् । पाँच बिघा जमिनमध्ये साढे २ बिघामा व्यावसायिक रूपमा लोकल केराखेती गरेका हुन् ।
केराको उत्पादन शुरु हुन थालेकाले यति बेला उनी केराको स्याहारमा व्यस्त छन् । केरा खेतीले प्रख्यात रहेको मिक्लाजुङ गाउँपालिको खोलिटार अधिकांश कृषक व्यावसायिक लोकल केराखेतीमा आबद्ध छन् । यहाँका सिङ्गो गाउँमा लोकल केराखेती गर्दछन् । ‘केराको बोट पसाउन शुरु भएको छ,’ केराखेती गर्दै आएका श्रेष्ठले भने, ‘साउनदेखि कार्तिकसम्म केरा उत्पादन भई बिक्री हुने सिजन हो । अहिले पनि हुन्छ तर कम उत्पादन हुने गरेको छ ।’ सिजनमा हप्तामा ४० देखि ५० घरीसम्म उत्पादन भएको केरा बिक्री हुने गरेको उनले जानकारी दिए ।
यहाँका कृषकले चिनी चम्पा र भोटाङे जातका केरा लगाएका छन् । एउटा झ्याङमा १० देखि १५ वटा केराको बोट हुने गरेको छ । ‘लोकल केराको धेरै माग छ,’ केरा गोढमेल गर्न व्यस्त रहेका टङ्कले भने, ‘अहिले राम्रोसँग केराको बोटलाई गोडमेल गर्न सक्यो भने उत्पादन पनि राम्रो हुन्छ ।’ महिना दिनमा २ देखि ३ पटकसम्म केराको बोट कृषकले गोडमेल गर्दछन् । केराको बोट गोडेपछि कृषकले मल लगाउने गरेको श्रेष्ठको भनाइ छ । ‘केराको बोट गोडमेलमा सबैभन्दा बढी पात धेरै हुन्छ,’ उनले भने, ‘झरेको पात हटाएर राम्रोसँग गोढमेल गर्न सके केराको कोसा पनि सप्रिएर आउँछ ।’
टङ्कलाई केराखेतीमा श्रीमती मेनुका श्रेष्ठले साथ दिँदै आएकी छिन् । दुवै जना मिलेर केराखेतीको गोडमेलमा व्यस्त छन् । २ छोरी रमिता र रमिक्षा र छोरा रविन गरी पाँच जनाको परिवार केराखेतीबाट चलेको श्रेष्ठ दम्पतीले बताए । सिजनमा श्रेष्ठ दम्पतीले हप्तामा ८० हजार रुपैयाँको केरा बिक्री गर्ने गरेको जानकारी दिए । मिक्लाजुङ गाउँपालिका–५ का हरिप्रसाद दाहालले पनि ३ कठ्ठा क्षेत्रफलमा केराखेती लगाएका छन् । उनले लगाएको केराखेती पनि श्रेष्ठ दम्पतीले लगाएको जस्तै केरा खेती हो । केराखेतीबाट राम्रो उत्पादन भएको उनले बताए ।
यहाँका कृषकले उत्पादन गरेको केराखेती खरिद गर्न व्यापारीहरू खेतीमा आउने गरेका छन् । ‘गाउँभरिका कृषकले लगाएको केरा खरिद गर्न गाउँमा गाडी लिएर व्यापारी आउँछन्, ‘दाहालले भने, ‘गाउँभरिको केरा ट्रकभरि हालेपछि शहरतिर बिक्री गर्न लैजाने गरेका छन् ।’ खोलीटारमा मात्र करिब ५ देखि ७ सय घरपरिवारका कृषकहरूले केराखेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको केरा पूर्वको काँकरभिट्टादेखि काठमाडौंसम्म पुग्ने गरेको कृषकहरू बताउँछन् ।
उत्पादन राम्रो भए पनि पछिल्लो समय पसाएको केराको बोटमा ‘गभारो’ रोगले बोट सुक्न थालेपछि समस्या भएको उनीहरूले बताए । यहाँका कृषकले केराको बोटमा लागेको रोगलाई स्थानीय भाषामा ‘गबारो’ भन्ने गरेका छन् । कृषक हरिप्रसाद दहालले कृषि प्राविधिक ल्याएर तत्काल केरामा लाग्ने रोगको पहिचान गरी समस्याको समाधान राज्यले गरिदिनुपर्ने बताए ।
सिंचाइको माग
मोरङको उत्तरी क्षेत्रमा पर्दछ मिक्लाजुङ– ५ खोलीटार । यहाँका अधिकांश घरपरिवार कृषि पेशामा निर्भर छन् । तर, सिंचाइ हुन नसक्दा कृषकहरूले राम्रो उत्पादन लिन नसकेको स्थानीय शङ्कर बजगार्इंले बताए । ‘मिक्लाजुङको खोलीटार सुक्काग्रस्त रहेको छ,’ उनले भने, ‘प्रयाप्त सिंचाइ नहुँदा भनेजस्तो उत्पादन लिन सकिएको छैन ।’ स्थानीय र प्रदेश सरकारले यहाँका स्थानीय कृषकहरूलाई सिंचाइको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।