धरान  / नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै नयाँ स्वस्थानी व्रत कथा सुनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेको भन्ने आसयमा ब्यंग्य गरे ।
नेकपाका महासचिव विष्णु पौडेलले विवादीत जग्गा खरिद गरेको र पछि अरुले थाहा पाए पछि फिर्ता गरेको भन्ने विषयलाई स्वास्थानी कथाको अध्यायको पारामा सुनाएका थिए ।

थापाले सुनाएको कथा

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,

अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।

इति श्री अख्तियार पुराणे, कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथा बालुवाटार प्रकरण वर्णनम्, प्रथम अध्याय।