देउराली । पूर्व उपमेयर कृष्णनारायण पलिखेको शाेकमा धरान उपमहानरपालिकाले १ दिन विदा दिने भएको छ ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट तत्कालिन धरान नगरपालिकाको उपमेयरमा विजयी भएका पालिखेको निधन भएपछि आज नगर प्रमख स्तरीय निर्णयले भोली (मंगलबार) शोक विदा दिने भएको हो ।

उपमहानगरपालिकाले  मंगलबार कार्यपालिकाका कार्यालय, मातहतका कार्यलय, विद्यालयहरुमा शाेक विदा दिइएको जनाएको छ । त्यस्तै,  नगर भित्र रहेका कलेजहरुलाई पनि विदा दिन आग्रह गरेको छ ।

लामो समयदेखी काठमाडौंमा मेडिसिटि हस्पिटलमा उपचारको क्रममा पलिखेको आइतबार अपरान्न निधन भएको थियो । मृगौला रोग सँगै अल्सरबाट पिडित रहेका उनको प्रेसर बढेर टाउकोमा रगत जमेपछि केही दिनअघि अप्रेशन गरिएको थियो ।

पलिखे पछिल्लो समय धरानमा जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउदै आएका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए ।