धरान  / धरानमा आगामी चैत्र ७ गतेदेखि १२ गतेसम्म प्रथम प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने भएको छ ।
घरान बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रदेश नम्बर १ भरीका कक्षा ११ देखि स्नातक तहसम्म अध्ययन गर्ने महिला पुरुष विद्यार्थीले सहभागिता जनाउन सक्ने हिजो आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
वराह गु्रप प्रदेश १ को मुख्य प्रायोजन, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ वटा टीमको सहभागिता रहने कार्यक्रम संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।
इलाम, विर्तामोड, दमक, विराटनगर, इटहरी, तरहरा, उदयपुर, बेलबारी, धनकुटा र धरानका टीमहरुको सहभागिता रहने उक्त प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता हुने समूहले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।महिला तर्फको विजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा हुने उक्त प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडिले २ हजार रुपैयाँ र महिला तर्फको उत्कृष्ट खेलाडिले १ हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।