धरान  / धरान उपमहानगरपालिका वडा नं १४ एतिहासिक विजयपुरमा १ सय ५० बर्ष पुरानो सिक्का फेला परेका छन् ।
धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ क्याम्पसको भवन बनाउनका लागि जग खन्दैं गर्दा कामदारले नै १ सय ६० थान पुरानो तामाका सिक्का फेला परेको वडा नं १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

एउटा तामाको बाला, ढुङ्गा जस्तो सानो डोली पैसा पनि भेटिएको छ ।  ती सिक्कामा सुरेन्द्रविक्रम शाह र इष्ट इन्डिया कम्पनी लेखिएको पाइएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए । केही भारती सिक्का रहेका छन् । पुराना सिक्का अस्थायी प्रहरी चौकी विजयपुरमा मुचुल्का उठाई सुरक्षित राखिएको छ ।

कामदारले हिजो सिक्का भेटेको थियो । करिव ६ फिट मुनी ती सिक्का फेला परेका थिए । खाली जग्गामा क्याम्पसले भवन बनाउन लागेको थियो । आज वडा कार्यालयलाई खवर गरे पछि प्रहरीको रोहवरमा ती सिक्का सुरक्षित राखिएको छ । वडा कार्यालयले पुरातात्विक विभागलाई पनि आजै जानकारी गराइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।