विराटनगर । प्रदेश नं १ मा कोरोनाको आशङ्कामा आइसोलेशनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ पुरुष छन् । सरकारले विभिन्न अस्पतालमा आइसोलेशन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइसोलेशनमा आजसम्म १५ जनालाई राखिएको छ । सरकारले यस प्रदेशमा ४३८ आइसोलेशन र चार हजार ३७ क्वारेन्टाइन शैैैया तयार गरेको छ । यसैगरी सङ्क्रमित उपचार गर्न ४४ आइसियू श्यया तयारी अवस्थामा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश नं १ मा अहिलेसम्म कसैलाई पनि आइसियूमा राखेर उपचार गर्नु परेको छैन ।

सूचना डेस्कले दिएको जानकारीअनुसार आजसम्म क्वारेन्टाइनमा ४४ महिला र ५६६ पुरुषसहित जम्मा ६१० लाई राखिएको छ । यता होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५३८ महिलासहित दुई हजार ८४७ रहेको छ । प्रदेशमा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना सङ्क्रमणको परीक्षण भइरहेको छ ।