यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा किसानले लगाएको मकै बालीमा फौजी किरा देखा पर्न थालेपछि मंगलबार बिषादी बितरण गरिएको छ । कुम्मायक ५ स्थीत निगाले कृषि सहकारी संस्थाका किसानले लगाएको मकै बालीमा फौजी किरा देखा परेपछि किट्नाषक बिषादी बितरण गरिएको हो । कृषि ज्ञान केन्द पाँचथरले स्प्रे र बिषादी निगाले कृषि सहकारी मार्फत किसानलाई बितरण गरेको छ । संस्थामा आवद्ध र अन्य किसान गरी प्रभावित क्षेत्रका १ सय भन्दा बढि किसानलाई बिषादी र स्प्रे बितरण गरिएको संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काले बताए ।
वडाको कृषि सहकारी संस्थामा गत वर्षदेखि कृषि ज्ञान केन्द्रमार्फत सघन बाली कार्यक्रम अन्तरगर्त मकै खेती हुदै आएको छ । तर उक्त क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखा पर्न थालेको थियो । किसानले संक्रमण नियन्त्रणको लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र पाँचथरमा विषादीको माग गरेको थिए । ज्ञान केन्द्रले किराको प्रकोपको स्थलगत निरिक्षण गरे लगतै विषादी बितरण गरेको हो । कार्यालयले प्रभावित क्षेत्रका किसानलाई इमामेक्टिन बेन्जोएट र क्लोरोनट्रानिलीप्रोल विषादी प्रदान गरेको छ ।
यता कुम्मायक गाउँपालिकाले पनि किराको संक्रमण फेला पर्न साथ गाउँपालिकमा सम्पर्क गर्न आग्रह गरेको छ । गाउँपालिकाले २ लाख रुपैयाँको विषादी खरिद गरी लागत साझेदारीमा प्रभावित किसानलाई बितरण गर्न लागेको हो । प्रभावित क्षेत्रका किसानलाई कार्यालयले ६० प्रतिशत अनुदानमा विषादी उपलब्ध गराउँने भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । कार्यालयको ६० प्रतिशत अनुदानमा विषादी बितरण गर्न लागेकाले प्रभावित क्षेत्रका किसानले वडाको सिफारिस सहित उपस्थीत भए विषादी उपलब्ध गराउँने चेम्जोङको भनाइ छ ।